डोल्पाका यार्सा पाटन आजबाट खुला

जेष्ठ ५, २०८२

रामचन्द्र न्यौपाने

Yarsa Patan of Dolpa open from today

डोल्पा — डोल्पामा यार्सा पाटनहरू आजबाट खुला गरिएका छन्। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने यार्सा पाटनहरू बहुमूल्य जडीबुटी यार्चागुम्बा संकलनका लागि आजबाट खुला गरिएको हो।

वैशाख २१ मा सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय बैठकले जेठ ५ देखि यार्सा गुम्बा संकलनका लागि खुला गर्ने निर्णय गरेको थियो ।

यार्सा पाटन खुला भएसँगै हजारौँको सङ्ख्यामा सर्वसाधारणहरू पाटन पुगेका छन्। निकुञ्ज क्षेत्रमा पर्ने भोक्पा, भांका, सागबारी, जगदुल्ला लगायतका सम्पूर्ण यार्चापाटन आजबाट खुला भएका शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नरेन्द्र अर्यालले जानकारी दिए।

यार्सा संकलन इजाजत पत्र निकुञ्जका त्रिपुराकोट, काइगाउ, सुम्दो, धो, सुलीगार्ड लगायतका स्थानबाट वितरण भइरहेकाले सुलिगार्डबाट मात्रै १७ सय सर्वसाधारण प्रवेश गरेको अर्यालले बताए। अन्य स्थानबाट के कति सर्वसाधारण छिरे भन्ने जानकारी बेलुकीसम्म आइपुग्ने उनले बताए ।

नेपाली बजारमा प्रतिगोटा यार्चागुम्बाको मूल्य पाँच सयदेखि एक हजारसम्म पर्ने गर्दछ । यसको मोटाइ र रङ अनुसार यार्चागुम्बाको मूल्य तोकिने गर्दछ । यार्चागुम्बा संकलनकालागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट पनि सर्वसाधारणहरू डोल्पा उच्च हिमाली पाटन पुगेका छन्।

डोल्पालीको आम्दानीको मुख्य श्रोतको रूपमा रहेको यार्चागुम्बा संकलन गर्न पाटन पुगेपछि अहिले जिल्लाका धेरैजसो गाउँबस्ती सुनसान भएका छन् । यार्सा पाटनमा यार्चागुम्बा भेटाउनका लागि घुँडा धसेर खोज्नुपर्ने र भेटियो भने भाग्यसँग तुलना हुने र्याचासंकहरु नै बताउँछन् ।

डोल्पालीहरु घरमा ताल्चा मारेर दुधे र स्कुले बालबच्चा समेतसँगै लिएर यार्सा पाटन जाने गर्दछन् । यार्सा सिजनको असर सरकारी विद्यालयमा समेत परेको छ । विद्यार्थीहरु नै पढाइ छोडेर यार्सा पाटनतिर लागेपछि विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति समेत घटेको आदर्श माध्यमिक विद्यालय जुफालका प्रधानाध्यापक बालकृष्ण डाँगीले बताए ।

डोल्पावासीको वर्षभरिको आम्दानीको श्रोत नै यार्चागुम्बा हो। समुन्द्री सतहबाट तीन हजारभन्दा माथिका हिमालहरूमा यार्चागुम्बा पाइने भएकाले यार्चागुम्बा संकलन गर्नु धेरै नै चुनितीपूर्ण मानिन्छ । डोल्पामा एक महिनासम्म चल्ने यार्सा संकलन अवधिभर केहीले लेक लागेर, भीरबाट लडेर र चिसोले समेत ज्यान गुमाउने गर्दछन् ।

यार्चापाटनमा शान्ति सुरक्षाका कायम गर्नका लागि निकुञ्ज क्षेत्रमा नेपाल आर्मी र अन्य वन क्षेत्रका पाटनहरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत परिचालन गरिएको छ । डोल्पामा यार्साको व्यावसायिक संकलन २०४० देखि सुरु भएको हो। 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully