हिमताल फुटेर तिलगाउँमा पहिरो, बस्ती उच्च जोखिममा

जेष्ठ ४, २०८२

डीबी बुढा

Landslide in Tilgaon due to Himtal bursting, settlement at high risk

जुम्ला — हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित थाक्रामा रहेका दुइवटा हिमताल फुटेर बाढी आउँदा तिलगाउँ उच्च जोखिममा छ । वडाध्यक्ष पाल्जोर तामाङले हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको बताए । 'अहिले पनि लेदो बगिरहेको छ,' वडाध्यक्ष तामाङले भने,‘जोखिम कायमै छ । स्थानीय त्रासिद छन् ।’ 

'हिमताल जेठ १ गते नै फुटेको हो,' उनले भने, ‘सुरुमा के हो भन्ने बारेमा अन्योल नै थियो । तर ९ घण्टाको पैदल हिँडेर थाक्रा पुग्दा हिमताल फुटेको थाहा भयो ।’ 

आइतबार पाँच जनाको टोली हिमताल फुटेको स्थानमा पुगेको छ । वडाध्यक्ष तामाङले भने, ‘त्यहाँ दुइवटा हिमताल फुटेको देखियो । त्यसपछि लेदो बगेको रहेछ ।’ अहिले तिलगाउँका १९ घर गाउँभन्दा टाढाको स्थानमा त्रिपालमा बसेका छन् । त्रिपालमा ३३ जना बसेका छन् । घरधुरी १९ हो तर अवस्था निकै जोखिम छ ।

घटनालगत्तै बाढीको कारण पत्ता लगाउन हिँडेको सुरक्षाकर्मीको टोलीबीच बाटोबाटै फर्किएको थियो । अग्लो ठाउँमा रहेको र त्यहाँ पुग्नका लागि विभिन्न स्वास्थ्य समस्या देखिने भएकोले टोली फर्किन बाध्य भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । 

'स्थानीय पाँच जनाको टोली त्यहाँ पुगेको छ । उनीहरुले देखेको आधारमा रणनीति बनाउनुपर्ने देखिन्छ,' उनले भने । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully