विपन्न परिवारलाई बोका–बाख्रा वितरण 

जेष्ठ ४, २०८२

विप्लव महर्जन

Distribution of goats and goats to poor families

सल्यान — पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले बन्गाड कुपिण्डे नगरपालिका–६ कालागाउँका २० जना दलित तथा विपन्न परिवारलाई बाख्रा र बोका वितरण गरेको छ ।

गरिबी निवारण गरी आयस्तरमा वृद्धि गर्न कार्यालयले दलित, विपन्न परिवालाई बाख्रा तथा बोका वितरण गरेको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले २० किसानलाई गरिब तथा विपन्न युवा लक्षित कार्यक्रम अनुसार १० लाख बराबरको ५७ बाख्रा र तीन उन्नत जातका बोका वितरण गरिएको बताए ।

पछिल्नो समयमा जिल्लामा उत्पादित स्थानीयजातका खसिबोकाको माग देशब्यापी भएको र यसबाट किसानले राम्रो आयआर्जन गर्दै आएकाले गरिब तथा विपन्नको आयस्तर उकास्न सहयोग पुग्ने भएकाले बाख्रा तथा उन्नत जातका बोका वितरण गरिएको उनले जानकारी गराए ।

गरिब तथा विपन्न युवा लक्षित कार्यक्रम अनुसार यो वर्ष ३४ लाख ८१ हजार बजेट जिल्लाभरी भेडा, बाख्रा प्रवर्द्धनका लागि आएकोमा कालागाउँ जस्तै त्रिवेणी गाउँपालिका १ कोलचौरमा कार्यक्रम लागू गरिएको कार्यालयका सुचना अधिकारी वीरेन्द्र केसीले बताए । 

केही दिनमै उक्त स्थानमा गएर गरिब तथा विपन्न परिवारलाई बाख्रा र उन्नत जातका बोका वितरण गरिने उनले जानकारी गराए । जिल्लाका किसानहरु पछिल्नो समयमा बाख्रापालनतर्फ उत्त्साहित भएका र जिल्लामा उत्पादित खसिबोकाको देशव्यापी माग रहेकाले वार्षिक ८० करोड बराबरको निकासी हुने गरेको उनको भनाइ छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully