डोल्पा — डोल्पाको ठुलिभेरी नगरपालिका-२ मा पर्ने मान्मा आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सामाजिक सञ्जालमा सहयोग संकलन गरेर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कापी, कलम, जुत्ता, मोजा लगायतका सामग्री वितरण गरिएको हो ।
जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर अखण्ड उपाध्यायले सुरुमा आफैले पैसा उठाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि विभिन्न व्यक्तिबाट आर्थिक सहयोग जुटेको थियो ।
‘संकलित ८० हजार ६ सय ५६ रकमबाटै शैक्षिक सामग्री लगायतका सामग्री खरिद गरेर वितरण गरिएको हो, यसरी सहयोग पाउनेमा धेरैजसो विपन्न र दलित विद्यार्थी छन्’ डाक्टर उपाध्यायले भने । ‘म एक पटक त्यो विद्यालय पुगेको थिएँ, सामान्य कापी कलम किन्न नसक्ने अवस्थाका विद्यार्थी पनि देखेँ, त्यही भएर सहयोग उठाइएको हो ।’
वितरण गरेपछि पनि शैक्षिक सामग्री बचेकाले लेखेर सक्ने विद्यार्थीलाई उसको कपी कलम चेक गरेर थप उपलब्ध गराउने विद्यालयले जनाएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष कमलबहादुर क्षेत्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ओमप्रसाद रोकायको उपस्थिति थियो ।
