कर्णालीका सरकारी निकायको बेरुजु ६ अर्ब नाघ्यो

जेष्ठ २, २०८२

तृप्ति शाही

The revenue of Karnali government agencies exceeded 6 billion

वीरेन्द्रनगर — कर्णाली प्रदेशका सरकारी निकायको बेरुजु ६ अर्ब नाघेको छ । महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदन, २०८२ का अनुसार कर्णाली सरकारअन्तर्गतका कार्यालय र स्थानीय तहको गरी ६ अर्ब ६४ करोड २९ लाख बेरुजु पुगेको छ ।

 मन्त्रालय मातहतको अद्यावधिक बेरुजु ४ अर्ब १२ करोड ५ लाख ८४ हजार पुगेको छ । ७९ वटा स्थानीय तहको बेरुजु २ अर्ब ५२ करोड २३ लाख ७७ हजार छ । आर्थिक वर्ष २०८०/०८१ मा मात्रै कर्णाली सरकारको ४५ करोड ९४ लाख ८२ हजार बेरुजु रकम थपिएको छ ।

प्रदेश सरकारी कार्यालय र समिति तथा अन्य संस्थातर्फ गत वर्षसम्मको बाँकी बेरुजु ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजारमध्ये २९ करोड ६८ लाख ४४ हजार संपरीक्षणबाट लगत कट्टा हुँदा ९६ लाख ९२ हजार बेरुजु थप भएको महालेखाको प्रतिवेदनमा भनिएको छ । जसअनुसार विगतको खुद बाँकी बेरुजु ३ अर्ब ६६ करोड ११ लाख २ हजारमा आव २०८०–०८१ मा ४५ करोड ९४ लाख ८२ हजार बेरुजु थपिएको छ ।

कर्णाली प्रदेशमा आव २०८०–०८१ मा १ सय ४० कार्यालयको ३७ अर्ब ५८ करोड ६६ लाख ९९ हजारको लेखापरीक्षण सम्पन्न गरिएको रकममध्ये प्रदेश मन्त्रालय तथा निकायतर्फ १ सय २८ कार्यालयको ३० अर्ब ५ करोड ४० लाख ३४ हजार तथा समिति र अन्य संस्थातर्फ १२ संस्थाको ७ अर्ब ५३ करोड २६ लाख ६५ हजार छ ।

लेखा परीक्षणबाट देखिएको कूल बेरुजुमध्ये प्रदेश सरकारी कार्यालयको ३४ करोड ९९ लाख २० हजार र समिति तथा अन्य संस्थाको १० करोड ९५ लाख ६२ हजार छ । त्यसमध्ये असुल गर्नुपर्ने ६ करोड ६९ लाख ९ हजार, नियमित गर्नुपर्ने १९ करोड २६ लाख ६९ हजार, पेश्की बाँकी ९ करोड ३ लाख ४२ हजार छ । 

प्रदेश सरकारी कार्यालय र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु ४ अर्व १२ करोड ५ लाख ८४ हजारमध्ये प्रदेश सरकारी कार्यालयहरूको ३ अर्ब ५० करोड ३८ लाख ३८ हजार र समिति र अन्य संस्थाको ६१ करोड ७० लाख ४६ हजार छ ।

बेरुजु संपरीक्षण भएको २९ करोड ६८ लाख ४४ हजारमध्ये प्रदेश सरकारी कार्यालयहरूको २८ करोड ९० लाख २५ हजार समिति र अन्य संस्थाको ७८ लाख १९ हजार छ । लेखा परीक्षणबाट कूल २ करोड ९४ लाख ८७ हजार असुली भएको छ । त्योमध्ये लेखा परीक्षणको क्रममा ६८ लाख ६० हजार, प्रारम्भिक प्रतिवेदन पठाएपछि १६ लाख २० हजार संपरीक्षणको क्रममा २ करोड १० लाख ७ हजार छ ।

महालेखाको प्रतिवेदनअनुसार सुर्खेतका ९ वटा स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै चौकुने गाउँपालिकाको बेरुजु देखिएको छ । चौकुनेमा ७ दशमलव १४ प्रतिशत बेरुजु देखिएको छ । यस्तै वीरेन्द्रनगर नगरपालिकामा ३ दशमलव १६, बराहताल गाउँपालिकामा २ दशमलव २९, चिङ्गाड गाउँपालिकामा २ दशमलव ३८, भेरीगंगा नगरपालिकामा ३ दशमलव १९ र पञ्चपुरी नगरपालिकामा ३ दशमलव ३१ प्रतिशत बेरुजु छ । लेकबेंसी नगरपालिकामा ३ दशमलव ३१ र सिम्ता गाउँपालिकामा ३ दशमलव ४२ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ । 

सुर्खेतको सबैभन्दा कम बेरुजु गुर्भाकोट नगरपालिकामा छ । गुर्भाकोटमा ० दशमलव ६१ प्रतिशत बेरुजु देखिएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully