यात्रुलाई सास्ती, ठेकदारको पक्षमा प्रशासनले सूचना गरेको गुनासो
कालीकोट — कर्णाली राजमार्गअन्तर्गत सिस्ने–साइगाउँ सडकखण्डमा सोमबारदेखि दैनिक ८ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । यही बाटो हुँदै आवतजावत गर्ने अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला र बाजुरालगायतका नागरिकलाई सास्ती हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको हो । प्रशासनका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द रहनेछ ।
सडक डिभिजन कार्यालय सुर्खेतबाट ठेक्का सम्झौता भई निर्माणाधीन रहेको यस सडक खण्डमा आवश्यक संरचना निर्माण तथा मर्मत सम्भारका लागि सवारीसाधनको आवतजावत रोकिएको हो । निर्माण कार्य सहज रूपमा सञ्चालन गर्नका लागि निश्चित समयावधिमा राजमार्ग बन्द गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ ।
सडक बन्दले दैनिक यात्रामा असर पार्न सक्ने भएकाले यात्रु तथा सवारीसाधन चालकलाई वैकल्पिक मार्गको रूपमा रामघाट–साइगाउँ खण्ड हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
प्रशासनले निर्माण कार्य सम्पन्न नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको भन्दै यात्रुलाई असुविधा भएमा क्षमा याचना समेत गरेको छ । यस खण्डमा यात्रा गर्न चाहनेहरूले उल्लेखित समय र सूचनालाई ध्यानमा राखी आफ्नो योजना बनाउन प्रशासनले सुझाएको छ ।
कर्णाली राजमार्ग हुँदै यात्रा गर्ने नागरिकलाई दिउँसोको समय सास्ती दिनुभन्दा कर्णाली राजमार्ग रातिको समय सधैं बन्द गर्ने भएकोले निर्माण व्यवसायीलाई रातिको समय काम गर्न लगाउनुको सट्टा प्रशासनले ठेकदारको पक्षमा निर्णय गरेको नागरिक समाजका अगुवा दमनराज बमले बताए । 'दैनिक ८ घण्टा सडक बन्द गर्ने सूचना अन्यायपूर्ण छ,' उनले भने, 'राति सधैं बन्द हुने राजमार्गमा त्यही समय काम गर्न लगाउनुपर्छ ।' उनले दिउँसो नै गर्ने भए समय घटाएर ४ घण्टा मात्र गाडी रोक्न सुझाव दिए ।
राजमार्ग बन्द हुँदा रारा घुम्न आएका यात्रुलाई बढी सास्ती भएको छ । 'सडक बन्द हुने थाहै थिएन,' धरानबाट रारा पुगेर फर्किदै गरेका नवीन राईले कान्तिपुरसँग भने, 'दुःख पाइयो ।' उनले कर्णाली राजमार्ग दुई लेनको बनाउन सरकारसँग अनुरोध पनि गरे । मध्य पहाडी राजमार्गको लामो सडक प्रयोग गर्दा गाडी भाडा पनि बढ्ने व्यवसायीको भनाइ छ ।
कर्णाली राजमार्गको डुंगेश्वरदेखि पाल्ताडा खण्डमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने भए पनि त्यहाँको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालयले ध्यान दिएको छैन ।
