'घुमौं सौराहा चितवन' अभियान लिएर चितवनका पर्यटन व्यवसायी कर्णालीमा

वैशाख २८, २०८२

तृप्ति शाही

Tourism businessmen of Chitwan in Karnali with 'Ghumaun Sauraha Chitwan' campaign

वीरेन्द्रनगर — 'घुमौं सौराहा चितवन अभियान २०८२' लिएर चितवनका पर्यटक व्यवसायी कर्णाली पुगेका छन् । चितवनको रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ चितवन सौराहाको अगुवाइमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा उनीहरू कर्णाली पुगेका हुन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहालाई ब्रान्डिङ गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले सुरु भएको अभियानमा निम्तो दिन पुगेको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए । यसले दुवै प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको उनको भनाइ छ ।

'सौराहामा हात्ती चढेर गैंडा अवलोकन गर्न पाइने भएकाले नेपाल भित्रिएका अधिकांश विदेशी पर्यटकको उत्कृष्ट गन्तव्य सौराहा भएको छ,' उनले भने, 'कोरोनाकालपछि स्वदेशी पर्यटकको संख्यामा कमी आएको छ । पर्यटन उद्योगलाई जीवित राख्न हामीले स्वदेशी पर्यटकको साथ खोजेका छौं ।' 

पर्यटक आकर्षित गर्न देशव्यापी रुपमा २०७७ पुसदेखि सुरु ‘घुमौं सौराहा’ अभियानलाई निरन्तरता दिँदै यस वर्ष पश्चिम नेपालका प्रमुख सहरमा भ्रमणका लागि आएको जानकारी उनले दिए । 

पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यहाँको पर्यटन विकासको मुख्य चुनौती पूर्वाधार भएको उल्लेख गर्दै चितवनसँग कर्णालीको पर्यटनलाई निजी क्षेत्रले जोडेर लैजानुपर्ने धारणा राखे । संघ र प्रदेश सरकारले पूर्वाधार विकासमा सरकारले काम गरिरहेको उनको भनाइ छ । पर्यटकीय सम्भावनाले कर्णाली देशकै अग्रणी स्थानमा रहेको दाबी कँडेलले गरे ।  

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully