डोल्पा — जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । प्रहरी नायब निरीक्षक (सई)माथि हातपात गरेको कसुरमा उनलाई हेडक्वार्टर तानिएको हो ।
यसअघि नक्सालमै कार्यरत डीएसपी केसी १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए । हाजिर भएको आठ दिनमै मुद्दा फाँटमा पाँच वर्षदेखि कार्यरत सईलाई कुटपिट गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो ।
सई रसाइलीसाग एकाएक विवाद भएको थियो । डीएसपी केसीले एक्कासि बोलाएर उनलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज र कुटपिट गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी हेडक्वार्टरले घटना थाहा पाएको भोलिपल्टै उनलाई हेडक्वार्टर तानेको हो ।
हेडक्वार्टरको आदेशपछि डीएसपी केसी सार्वजनिक बस चढी काठमाडौं लागेका थिए ।
घटनाको विषयमा छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डीएसपी नारायण डाागीको टोली बिहीबार बिहानै प्रहरीकै गाडीमा डोल्पा पुगेर छानबिन सुरु गरेको छ । यस विषयमा सई शैलेन्द्रकुमार रसाइलीसँग बुझ्न खोज्दा कुनै प्रतिक्रिया दिन मानेनन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक मनीष थापाले डीएसपी केसी व्यक्तिगत कामले काठमाडौं गएको प्रतिक्रिया दिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी शिवकुमार श्रेष्ठसँग बुझ्दा घटनाका बारेमा जानकारी प्राप्त भएको र वास्तविकता के हो भन्ने कुरा बुझ्ने काम भइरहेको बताए ।
