अज्ञात व्यक्तिले जाजरकोटमा तार काट्दा डोल्पामा इन्टरेनट अवरुद्ध, कक्षा १२ को परीक्षा प्रभावित

वैशाख २३, २०८२

रामचन्द्र न्यौपाने

Internet blocked in Dolpa, class 12 exam affected when unknown person cuts wire in Jajarkot

डोल्पा — अज्ञात व्यक्तिले जाजरकोट जिल्लाको तल्नुबगरमा नेपाल टेलिकमको फाइबर तार काट्दा डोल्पामा अवरुद्ध भएको इन्टरनेट सेवा ३६ घण्टापछि सुचारु भएको छ ।

रुकुमपश्चिमको राडीज्युला हुँदै डोल्पा पुर्‍याइएको तार अज्ञात व्यक्तिले काटेपछि करिब दुई दिन इन्टरनेट सेवा अवरुद्ध भएको थियो । दूर सञ्चार कार्यालय जाजरकोटको टोलीले काटिएको फाइबर जोडेपछि सोमबार बेलुकी सात बजेमात्र सेवा सुरु भएको बताइएको छ ।

‘यस पटकलाई दुई पटक फाइबर इन्टरनेटको तार काटियो । व्यक्ति पहिचान हुन भनेको सकेको छैन,’ दूर सञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले भने, ‘पटक–पटक सेवा अवरुद्ध हुँदा सरकारी कामगाजमा पनि समस्या हुन्छ । दूर सञ्चारको सेवाप्रति सेवाग्राहीको विश्वास घट्न सक्छ, त्यसैले दोषी पत्ता लगाइ कानुनी कारबाही गर्नुपर्छ ।’

सोमबार बिहान इन्टरनेट अवरुद्ध हुँदा कक्षा १२ को परीक्षासमेत प्रभावित भएको थियो । सात बजे नै हलमा प्रवेश गराइएका परीक्षार्थीलाई ढिलो गरी प्रश्नपत्र बाँडिएको थियो ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully