वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ व्यवस्थापनको कार्य अघि बढाएको छ। पालिकाले फुटपाथ व्यवस्थापनका लागि रेड जोन अर्थात् फुटपाथ व्यवसाय गर्न पूर्ण निषेधित क्षेत्र तोकेको छ।
एयरपोर्ट चोकको तीनकुने क्षेत्र, बसपार्क भित्र जाने दुवै गेट, मंगलगढीमा फुटपाथ व्यवसाय गर्न पूर्ण निषेधित क्षेत्र तोकिएको छ।
यस्तै बुलबुले गेट, एरिचोक, प्रदेश अस्पताल गेट, एयरपोर्ट गेट, सरकारी कार्यालय र नगरपालिकाको कार्यालयदेखि ५० मिटर आसपासको क्षेत्रलाई पनि फुटपाथ निषेधित क्षेत्र तोकिएको छ । रत्न राजमार्ग, हटिया लाइन सडक किनारादेखि ५ मिटर तथा बिरुवा लगाएको तीन मिटर बाहिर क्षेत्र, नगर भित्रका सडक किनारा र वडा कार्यालयले तोकेका अन्य क्षेत्रहरूमा फुटपाथ राख्न नपाइने नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
नगरको सौर्न्दयता कुरुप बन्न थालेपछि पालिकाले फुटपाथ व्यवस्थापनको काम सुरु गरेको जनाएको छ । जथाभाबी गरिएको फुटपाथ व्यवसायले बजारमा फोहोर, अव्यवस्थित, ट्राफिक जाम हुने गरेको थियो । सडक तथा सार्वजनिक स्थलहरूमा अनियन्त्रित, अव्यवस्थित र अतिक्रमित ढङ्गबाट व्यापार व्यवसाय गर्नेको सङ्ख्या बढेपछि दिगो समाधानसहित रेड जोन क्षेत्र तोकिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
फुटपाथमा व्यवसाय गरिरहेकाहरूको जीविकोपार्जनलाई असर नपर्ने गरी निश्चित स्थान तोकेर राख्न लागिएको उनले बताइन् । निषेधित क्षेत्र तोकिएका ठाउँमा फलफूल, तरकारी, सडक खाजा खाना, अन्य आवश्यक खुद्रा वस्तुहरू, डोके व्यवसायी र ठेला व्यवसायी गर्न पाइने छैन ।
ठेलामा गरिने चाट र अन्य व्यवसायलाई वीरेन्द्रनगर–६ को भानु पार्क आसपास, एमाले पार्टी कार्यालय पश्चिममा रहेका फलफूल, तरकारी पसल तथा वीरेन्द्र चोक नजिकै सडकमा व्यवसाय गरिरहेकालाई डाँडा स्कुलको पूर्व–दक्षिणतर्फको खाली क्षेत्रमा राखिनेछ । धमला चोक क्षेत्रमा मकै पोलेर विक्री गर्ने चाट व्यवसाय गर्नेहरू रेडियो भेरीको पश्चिम क्षेत्रको खाली क्षेत्रमा सर्नुपर्नेछ ।
आंशिक (एल्लो जोन) क्षेत्रमा फुटपाथ सञ्चालन गर्न सकिने क्षेत्रहरूमा पिपल चौतारा, घण्टाघर दक्षिण नगरपालिका, खेलकुद चोक जाने सडकको दक्षिणतर्फ, घण्टाघर–कालुञ्चोक क्षेत्र बाहेकको क्षेत्रमा सडक खाजा, कर्नालीवासी उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको विक्री वितरण गर्नमा रोक लगाइने छैन ।
गर्मी समयमा बिहान ६ देखी ९ साँझ ४ देखी ७ र अन्य समयमा ५ देखी ८ बजेसम्म व्यवसाय गर्न पाइनेछ । जुनसुकै समय (ग्रीन जोन) मा व्यवसाय गर्न सकिने क्षेत्रहरूमा बुलबुले गेटको उत्तरतर्फको विश्वविद्यालयको पर्खालमा खुद्रा सामान र जिल्ला प्रहरी कार्यालयको पूर्वी चोकबाट श्री कृष्ण माविको अगाडी खाजा तथा खुद्रा व्यवसाय सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
नगरले तोकिएका क्षेत्रमा फुटपाथ व्यवसायीहरू ७ दिन भित्र सरिसक्नुपर्ने जनाएको छ । फुटपाथ व्यवसाय व्यवस्थापनको लागि आइतबार नगरप्रमुख सहित ट्राफिक प्रहरी , व्यवसायी लगागतको टोलीले अनुगमन पनि गरेको छ ।
