कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम

वैशाख २१, २०८२

तृप्ति शाही

Citizen Health Screening Program in Karnali

वीरेन्द्रनगर — कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरिएको छ । उक्त कार्यक्रम आइतबारबाट सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ को गुमी स्वास्थ्यचौकीबाट सुरु भएको हो । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रम शुभारम्भ गरे ।

कार्यक्रममार्फत ४० वर्ष नाघेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको नि:शुल्क परीक्षणका साथै उपचार हुनेछ । १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरुको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको मन्त्री भण्डारीले  बताए । 

पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको उल्लेख गर्दै उनले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरिएको बताए । '४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समग्र स्वास्थ्यको अवस्था पत्ता लगाउनु रहेको छ,' उनले भने, 'नसर्ने रोगहरुबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनीकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । कार्यक्रममार्फत स्क्रिनिङ गरिएको तथ्यांकको आधारमा भावी स्वास्थ्य रणनीति तय गर्न सघाउ पुर्‍याउने अपेक्षा छ ।'

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई नीतिगतरुपमा व्यवस्थित गरी अघि बढाइएको उनले बताए । कार्यक्रम प्रभावकारी बनाउन कर्णालीका सबै पालिकामा स्वास्थ्य प्रवर्द्धनात्मक कार्य सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

Citizen Health Screening Program in Karnali

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङले प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको कार्यक्रममा ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य परीक्षण प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । नेपालमा नसर्ने रोगहरु दुई तिहाइले बढ्दै गएको उल्लेख गर्दै उनले यसबाट कर्णाली पनि अछुतो रहन नसकेको बताइन् । परीक्षण कार्यक्रम तीन दिनसम्म चल्ने छ । त्यसपछि १० वटै जिल्लामा विभिन्न मितिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताइन् । 

कार्यक्रम सञ्चालन गर्न जिल्लामा पठाइएको १० लाख बजेटले स्क्रिनिङ सामग्री खरिद गर्ने र निर्देशालयको व्यवस्थापनमा यस वर्ष नागरिक स्वास्थ्य परीक्षणलाई बृहत् बनाइने निमित्त निर्देशक गुरुङको भनाइ छ । 

आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने उनले बताइन् । उनका अनुसार ७९ वटै स्थानीय तहको केन्द्रमा रहेका स्वास्थ्य संस्थामा तीन दिन ४० वर्ष माथिका नागरिकको स्वास्थ्य जाँच तथा परीक्षण गरिने छ । स्क्रिनिङपश्चात् देखा परेका नयाँ बिरामीहरुको अन्तिम परीक्षण नजिकको रणनीतिक तथा आधारभूत अस्पतालमा निदान गरी बिरामीलाई औषधिको सुनिश्चिततासँगै सम्बन्धित स्थानीयका वडास्तरमा रहेका स्वास्थ्य संस्थाबाट औषधि उपलब्ध गराइने छ । 

कार्यक्रमअन्तर्गत प्रयोशाला नभएका स्वास्थ्य संस्थामा नमुना संकलन गरी नजिकका रणनैतिक तथा आधारभूत अस्पतालमा परीक्षणका लागि पठाइने छ । यस्तै, प्रयोगशाला भएका स्वास्थ्य संस्थामा नमुना परक्षणसँगै कैफियत देखिए उपचार गरिने छ । यस्ता स्वास्थ्य संस्थामा उपचार सम्भव नभए जटिलताका आधारमा सुविधासम्पन्न अस्पतालमा रेफर गरिने नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा फोकल पर्सन किरण शर्माले बताए । उनका अनुसार बिरामीको जटिलता हेरेर कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने गरी विशिष्टिकृत अस्पताल तोकिएको छ । 

कार्यक्रमले उक्त रक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मिर्गौलासम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully