खेलाडीको खर्च जुटाउन मिल

कर्णाली स्पोर्ट्स् क्लबले एथ्लेटिक्स खेलाडीको खाजा र यातायात खर्च जुटाउन २२ लाख रुपैयाँ खर्चिएर कुटानी पिसानी मिल सञ्चालन गरेको छ

वैशाख १३, २०८२

डीबी बुढा

A mill to raise the expenses of the players

जुम्ला — विश्व कृतिमानी धावक हरिबहादुर रोकाय हरेक दिन कुटानी पिसानी मिलमै भेटिन्छन्। कहिले धान कुटिरहेका हुन्छन्, त कहिले तेल पेलिरहेका हुन्छन्। यो उनको रहर होइन, खेलाडीको खर्चको जोहो गर्नको लागि पनि उनी मिलमै खटिनुपर्ने बाध्यता छ।

चन्दननाथ नगरपालिका-५ रानीपोखरी नजिकै कुटानी पिसानी मिल खुलेको छ। कर्णाली स्पोर्ट्स् क्लबले एथलेटिक्स खेलाडीहरूको खाजा र यातायात खर्च जुटाउनको लागि सात वर्ष पहिले झन्डै २२ लाख रुपैयाँको लागतमा मिल सञ्चालन गरिरहेको छ।

अहिले खेलाडीहरू प्रतियोगितामा भाग लिन जिल्ला बाहिर जान होस् या खेलाडीहरूको हरेक समस्या सम्बोधन गर्न यो मिलले आम्दानी गरिरहेको छ। अहिले मिलको रेखदेख र संरक्षणको काम धावक रोकायाले गरिरहेका छन्। छुट्टै कर्मचारी राखेर मिल चलाउँदा आर्थिक भार थोपरिने भएकोले आफैँ समाल्नु परेको उनको भनाइ छ।

धावक हरिबहादुरले भने, ‘खेलाडीहरू दैनिक प्रशिक्षण गरिरहेका हुन्छन् । उनीहरूलाई चाहिने पोषिलो खाजा खरिद गर्न मिल सहयोगी बनेको छ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने खेलाडीहरू मिलबाटै संकलन भइरहेको खर्चले जाने गरेका छन्। धावक रोकायाले भने, ‘सरकार खेलाडी प्रति उदासीन छ । हामी खेल क्षेत्रबाटै विश्वसामु चिनाउने सोच बोकिरहेका हुन्छौँ ।’  

मिलमा धान कुट्ने, पिठो पिस्ने र तेल पेल्ने कार्य चलिरहेको छ । मिलले खेलाडी उत्पादन र व्यवस्थापनमा निकै राम्रो भुमिका निभाइरहेको कर्णाली स्पोर्टस क्लबका अध्यक्ष सरोज शाहीले बताए।   नियमित प्रशिक्षणमा रहेका खेलाडीहरू खाजा,पोशाक, जुत्ता र यातायात खर्चको अभावले निराश हुने गर्छन्,' अध्यक्ष शाहीले भने, ‘मिल खोलेर खेलाडीको आंशिक आवश्यकता पूरा गर्ने कोसिस भइरहेको छ ।’

मिल खोल्न धावक रोकायाले ३५ लाख बराबरको जग्गा दिए । हरिबहादुर फाउण्डेशनको एक लाख ५० हजार रुपैयाँ नगद सहयोग गरे । 'अहिले मिल खुलेपछि खेलाडी बचाउन सहज बनेको छ । पहिले भोकै प्रशिक्षण चलाउनुपर्ने, सहयोग माग्न जाँदा अपमान खेप्नुपर्ने बाध्यता थियो,' धावक रोकायाले थपे, ‘अहिले मिल चलेपछि निर्धक्कसँग खेलाडीहरू उत्पादन गर्न सकिएको छ । सामान्य समस्या संशोधन गर्न कसैसंग रेझुक्नु परिरहेको छैन ।’

मिल चलाउन बिजुलीको अलावा १२ किलोवाटको सोलार सिस्टम जडान गरिएको छ । यो जडान गर्न ग्रीड इन्टरनेशनल काठमाडौंले १४ लाख रुपैयाँ, राधा पौडेल फाउण्डेशनले २५ हजार रुपैयाँ र चन्दननाथ नगरपालिका ५ नम्बर वडाले दुई लाख रुपैयाँ सहयोग गरेका थिए । 

धावक रोकायाले भने, ‘सरकार खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउँदैन । खेलाडीहरू हमेशा देश चिनाउन जुटिरहेका देखिन्छन् । यो अवस्था देखेर विकल्पको रूपमा मिल खोलिएको हो । ’  मिलको भवन बनाउन ७ लाख ५० हजार रुपैयाँ लागेको थियो । जसमा पूर्व खेलाडी र जागिर गरिरहेका खेलाडीहरूले एक लाख रुपैयाँ जुटाए ।

चन्दननाथ-२ का दया खत्रीले गिट्टी बालुवा र ढुवानीको प्रबन्ध मिलाए । चन्दननाथ-६ का वडाध्यक्ष रवि थापा र चन्दननाथ-१ का युवा अगुवा धर्मेन्द्र महताराले डोजर खन्ने लगायतको सहयोग गरे । फलस्वरूप अहिले मिल चलिरहेको छ। खेलाडीहरूले श्रमदान समेत गरे । 

A mill to raise the expenses of the players

अहिले जुम्लाका खेलाडीहरू राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिरहेका छन्। आर्थिक समस्याले उनीहरूको प्रगतिमा बाधा सिर्जना भइरहेको थियो । यो मिल स्थापनाले खेलाडीले खेल क्षेत्र छोड्न सकिरहेका छैनन् । 

रोकायाले प्रशिक्षण दिएका खेलाडीहरू हाल भारतीय सेना, नेपाली सेना र प्रहरीमा कार्यरत छन्। ‘राज्यलाई खेलाडीले चिनाएका छन्, तर खेलाडी संरक्षणमा राज्यको लगानी न्यून छ,’ उनले भने, ‘त्यसैले हामीले आफ्नै मिल स्थापना गरेर जीवन खर्च चलाइरहेका छौँ ।’

अहिले धावक रोकायाले १६ जना खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । उनीहरूलाई पोषिलो खाना मिलबाट चलेको छ । मिल खोल्नु अघि खेलाडीहरूले २ हजार ५ सय बर्गमिटर क्षेत्रफल जग्गामा फापर, तरकारी र सिमी खेती गरिरहेका थिए ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully