एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा बन्यो विद्यालय भवन

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

A school building was built in Jajarkot with the help of NRNA Australia

जाजरकोट — गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित शंकर  भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज उद्घाटन एवं हस्तान्तरण गरिएको छ । अस्ट्रेलियामा  बस्ने नेपालीबाट संकलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । 

उक्त भवनको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज यहाँ उद्घाटन गरे । २०७९ सालमा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अस्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो ।

अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताए । 'अस्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गरिएको थियो,' उनले भने, 'पछि विद्यालय निर्माणका लागि पनि सहयोग संकलन गरिएको थियो ।'

विद्यालय भवन निर्माण आठ महिनाअघि सुरु भएको हो । उक्त भवनमा चालु शैक्षिक सत्रबाट पठनपाठन पनि सुरु भइसकेको छ । ' यो सहयोगका लागि अस्ट्रेलियामा रहेको विभिन्न संघसंस्था र व्यक्तिहरुको योगदान छ, आगामी दिनमा पनि यस प्रकारको सहयोग जारी रहनेछ,' अध्यक्ष पोखरेलले भने । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अस्ट्रेलियालाई धन्यवाद दिए । त्यस अवसरमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेललगायत विद्यार्थी र स्थानीयको उपस्थिति थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully