सल्यान — सल्यानको कपुरकोटबाट सुर्खेत लगिएको ८ सय ७० किलो काउली नष्ट गरिएको छ । विषादी अन्वेषण तथा विश्लेषण प्रयोगशाला इकाई सुर्खेतले परीक्षण गर्दा अत्यधिक विषादी प्रयोग गरेको पाइएपछि खान अयोग्य भन्दै काउली नष्ट गरिएको हो ।
कपुरकोट गाउँपालिका–६ छाँयानाथ लिउरेखोलाका किसानले उत्पादन गरेका काउली प्रवल शाहीले खरिद गरी सुर्खेतका व्यापारी रतन महतारालाई पठाएका थिए । उक्त काउली सुर्खेतको सब्जीमण्डीमा बिक्रीका लागि राखिएको थियो ।
काउलीमा ९९.३४ प्रतिशत विषादी रहेको र यसले मानविय स्वास्थ्यलाई गम्भिर असर गर्ने भएकाले नष्ट गरिएको विषादी अन्वेषण तथा विश्लेषण प्रयोगशाला इकाई सुर्खेतका प्राविधिक धनसिंह धामीले बताए ।
कृषि तथा पुशपन्छी विकास मन्त्रालयको कृषि विभागको केन्द्रीय प्रयोगशाला अन्तर्गत सुर्खेतमा रहेको विषादी अन्वेषण तथा विश्लेषण प्रयोगशाला इकाईले परीक्षण गरेको उनले जानकारी गराए ।
उनका अनुसार कपुरकोटबाट लगिएको काउलीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा देखिएको थियो ।
‘सामान्यत: कुनै पनि तरकारीमा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राख्ने र पर्खिने र ४५ प्रतिशत भन्दा बढी देखियो भने त्यसलाई खान योग्य मानिँदैन र नष्ट गर्नु हुन्छ,’ उनले भने ।
कपुरकोट गाउँपालिकाले आवश्यकताभन्दा बढी विषादी प्रयोग नगर्न किसानलाई सल्लाह दिने मात्र नभई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि विषादी प्रयोगशाला सञ्चालनमा आउन नसक्दा नियन्त्रण गर्न नसकिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।
पालिका र कृषि विकास कार्यालय सल्यानका प्राविधिकले विभिन्न किसिमको सल्लाह दिँदै आए पनि किसानले प्राविधिकको सल्लाहलाई बेवास्ता गर्दै आएका उनले जानकारी गराए ।
‘कपुरकोटबाट वार्षिक करोडौंको बेमौसमी तरकारी उत्पादन भएर बाहिर निकासी हुन्छ । तीन दशक अघिदेखि किसानले विभिन्न जातका तरकारी लगाउँदै आएका छन् । विषादीले स्वास्थ्यमा गम्भिर असर पर्छ भन्ने सबैलाई थाह छ तर किसानले चाहिने भन्दा बढी प्रयोग गर्न छाडेका छैनन्,’ उनले भने ‘प्रयोगशाला सञ्चालनमा आएको भए हामीले विषादीको मात्रा परीक्षण गर्थ्यौं र खान उपयुक्त नभएको तरकारी केही दिन होल्डमा राख्न तथा नष्ट गर्न सल्लाह दिन्थ्यौं ।’
भवन बनेको दुई वर्ष वितिसक्दा पनि विषादी परीक्षण गर्ने मेसिन आउन सकेको छैन । त्यसले गर्दा समस्या निम्त्याएको उनको भनाइ छ । किसानले पैसाको लागि आफ्नो ज्यान जोखिममा पार्ने मात्र नभई उपभोक्ताको ज्यानसमेत जोखिममा पारेको र पालिकाभित्र तरकारी खेती गर्ने किसानलाई विभिन्न किसिमको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ ।
