पलाँता ट्र्याक्टर दुर्घटनामा मृतक चारैजनाको कर्णाली नदीमा दाहसंस्कार

वैशाख ९, २०८२

तुलाराम पाण्डे

Cremation of the four deceased in the Palanta tractor accident in the Karnali river

कालिकोट — कालिकोटकाे पलाँता गाउँपालिका-२ लार्फमा आइतबार राति ट्र्याक्टर दुर्घटनामा ज्यान गुमाएका सबै मृतकको मंगलबार दिउँसो कर्णाली नदीमा दाहसंस्कार गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मुगुका चालक र स्थानीय तीन जनाको सोमबार बेलुकी पलाँता-२ धौलागोहस्थित राडुनेटा स्वास्थ्य चौकीमा पोस्टमार्टम भएपछि दाहसंस्कार गरिएको पलाता गाउँपालिका अध्यक्ष विष्णु रोकायाले बताए । 'सोमबार सबै मृतकका आफन्त बोलाएर शव बुझाउँदै ठिक्क भयो,' उनले भने, 'परम्पराअनुसार मंगलबार कर्णाली नदीमा दाहसंस्कार भयो ।'

पलाँता-९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका थिए । मृतकका आफन्तले शवको पोस्टमार्टम गाउँमै गर्नुपर्ने अडान लिएपछि सोमबार बेलुकी मात्र पोस्टमार्टम सकिएको थियो ।

दुर्घटनामा मुगु खत्याड-५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता-५ का २६ वर्षीय अम्बा शाही, ४ का २१ वर्षीय सदु बुढा र ४ नं वडाकै २१ वर्षीय रविन्द्र विकको मृत्यु भएको थियो ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully