स्तरवृद्धिका लागि राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द 

वैशाख ८, २०८२

विप्लव महर्जन

Rapti Highway closed for five hours daily for upgrading

सल्यान — जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोलादेखि राम्री सडक खण्ड स्तरवृद्धि तथा कालोपत्रे गर्नका लागि सोमबारदेखि राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ ।

स्तरवृद्धि तथा कालोपत्रे गर्न सडक डिभिजन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि राप्ती राजमार्ग बन्द गरिएको हो । नियमित गाडी सञ्चालनका कारण राप्ती राजमार्गको चोरखोलादेखि राम्रीसम्मको सडक खण्ड स्तरवृद्धि तथा कालोपत्रेको काम प्रभावित भएपछि सोमबार ८ गतेदेखि १४ गतेसम्मका लागि एक सातासम्म दैनिक पाँच घण्टा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको हो ।

चोरखोलादेखि राम्री खण्डमा सडक स्तरवृद्धिको काम भैरहे पनि नियमित गाडी चल्दा ४ किलोमिटर सडक खण्डमा प्रभावकारी हुन सकेको छैन । यात्रुले बाह्रै महिना विभिन्न किसिमका कष्ट उठाउँदै आएकाले आउँदा दिनमा सास्ती भोग्न नपरोस भनेर नै सडक स्तरवृद्धि गर्न दैनिक पाँच घण्टा बन्द गर्नु परेको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले  बताएका छन् । 

उनले बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म सडक बन्द हुने जानकारी गराए । साना तथा अत्यावश्यक सवारी साधन वैकल्पिक मार्ग पैयाखोरिया–सातावास–किमचौर–कपुरकोट सडक खण्ड प्रयोग गर्न र संयमता अपनाउन सडक डिभिजन कार्यालय दाङका प्रमुख विष्टले आग्रह गरेका छन् । 

वैकल्पिक मार्गबाट ठूला सवारी साधन चल्न नसक्ने भएकाले ठूला सवारी साधनमा सवार गर्ने यात्रु प्रभावित हुने र मालबाहक गाडी भने केही घण्टा रोकिने उनले जानकारी गराए । वर्षातको समयमा पहिरो जाने र सिमेन्ट फ्याक्ट्रीको चुनढुंगा बोक्ने टिपरका कारण निर्माण कम्पनीले काम गर्दै आए पनि सोचे अनुसार प्रगति नदेखिए पनि पछिल्नो समयमा कालोपत्रे गर्नका लागि ग्राबेल गरिसकेकाले आउजाउमा केही सहज भएको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully