जुम्ला — जुम्लाको सिंजा गाउँपालिका–३ स्थित राइकेडाँडामा अब नेपालको नक्सा अंकित हुने भएको छ । प्रतिनिधिसभा सदस्य विनीता कठायतले शनिबार यहाँ नेपालको भौगोलिक नक्सा निर्माणको शिलान्यास गरेकी हुन् ।
राइकेमा नेपालको नक्सा बन्न सुरु भएपछि स्थानीय चकित परेका छन् । यो नक्सा नेपालकै सबैभन्दा ठूलो हुनेछ ।
सांसद कठायतले पहिलो चरणमा नेपालको नक्सा निर्माण प्रारम्भ भए पनि भविष्यमा ऐतिहासिक खस राज्यको नक्सा पनि निर्माण गर्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘भारतले महाभारतको नक्सामा नेपाल समेटेको छ । हामीले खस राज्यको नक्सा बनाउँदा भारतको भू–भाग समेट्न किन मिल्दैन ?’
नाग्म गमगडी राजमार्ग हुँदै राराताल जाने हजारौं आन्तरिक तथा बाह्य पर्यटकले नक्सा अवलोकन गर्नेछन् । सिंजा क्षेत्रको पर्यटन प्रवर्द्धन र ऐतिहासिकता उजागार गर्न नेपालको नक्साले महत्त्वपूर्ण योगदान गर्ने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
नेपालको नक्सा निर्माणको कार्य असारमै सकिनेछ । ‘यति ठूलो नेपालको नक्सा अन्यत्र कहीँ छैन । पहिलो पटक सिंजाको राइके डाँडामा बन्न थालेको हो,’ अध्यक्ष धितालले भने, ‘नक्सा हेर्दा पनि राष्ट्रियताको भावना जगाउने खालको हुनेछ ।’
डेढ सय मिटर लामो र ३० मिटर चौडाइ भएको नक्सा बन्न लागेको हो । नेपालको नक्सा कंक्रिटको बन्नेछ । डाँडामा बन्ने भएकाले पहिरो जाने संभावना भएको स्थानमा कंक्रिटको बलियो वाल बनाइनेछ । ‘वरिपरि सिमेन्टको रेखा र बीचमा विभिन्न विरुवा रोपेर सिंगारपटार गरिनेछ,’ अध्यक्ष धितालले भने, ‘हरेक आन्तरिक तथा बाह्य पर्यटकमा देशभक्ति पलाउने विश्वास लिएका छौं । भूक्षयलाई रोक्ने, वातावरणमैत्री हिसाबले संरचना बन्ने भएकाले अझ महत्त्वपूर्ण मानिनेछ ।’
नेपालको नक्सा निर्माणको काम सकिने बित्तिकै सिंजा साम्राज्यको नक्सा बनाउने गाउँपालिकाले जनाएको छ । नक्सा निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाले ठेक्का आह्वान गरेको थियो । आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काले परियोजनाको अनुमानित लागत एक करोड रुपैयाँ रहेको बताए । उनका अनुसार निर्माण कार्यको जिम्मेवारी ममता निर्माण सेवाले पाएको छ ।
यो कार्यले सिंजा क्षेत्रको शैक्षिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मद्धत मिल्ने अपेक्षा गरिएको छ ।
