लुहाम–फलाबाङ–बल्ले सडक एक साताका लागि बन्द 

वैशाख ५, २०८२

विप्लव महर्जन

Luham-Falabang-Balle road closed for a week

सल्यान — सल्यानदेखि दाङ तुलसीपुर आवतजावत गर्दा छोटो दूरीमा पर्ने लुहाम–फलाबाङ–मख्खनटाकुरी–बल्ले सडक खण्ड एक साताका लागि बन्द गरिएको छ ।

प्रहरी, प्रशासन, पालिकासँगको समन्वयमा जिल्लाको त्रिवेणी गाउँपालिका-४ वडा कार्यालयले स्तरवृद्धिका लागि उक्त सडक खण्डमा यातायात सेवा बन्द गरेको हो । गाडी आउजाउ गर्दा काम रोकिएपछि ठेकेदार कम्पनीको आग्रहमा यातायात संचालन एक सातासम्म बन्द गरिएको वडाअध्यक्ष छवि शर्माले बताए । राप्ती राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको लुहाम–फलाबाङ्ग–मख्खनटाकुरी–बल्ले खण्डमा दैनिक दर्जनभन्दा बढी साना गाडी आउजाउ गर्छन् । 

निर्माणका कारण लामो समय सडकमा गाडी रोकिनु सास्ती हुने भएकाले बन्द गरिएको उनले प्रस्ट पारे । उनले उक्त सडक खण्डमा चल्ने गाडी व्यवसायी तथा निजी गाडीवालालाई वैकल्पिक मार्ग अपनाउनसमेत आग्रह गरेका छन् । 

प्रदेश सरकारको एक करोड बजेट र पालिकाको एक करोड बजेटमा लुहाम–फलाबाङ–मख्खनटाकुरी–बल्ले सडक स्तरवृद्धिको काम धमाधम भइरहेको छ । स्तरोन्नति सकिएपछि ठूला गाडीसमेत संचालनमा आउने उनको भनाइ छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully