गिडिदह भ्रमण वर्ष २०८२ शुभारम्भ, ९ सय बढी पर्यटक भित्र्याउने लक्ष्य

वैशाख ४, २०८२

डीबी बुढा

Gididah tour started in 2082, the goal is to bring in more than 900 tourists

जुम्ला — जिल्लाको प्रशिद्ध पर्यटकी स्थल गिडिदहको पर्यटन प्रवर्द्धनका लागि तातोपानी गाउँपालिकाले गिडिदह भ्रमण वर्ष २०८२ शुभारम्भ गरेको छ । 

कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गिडिदह भ्रमण वर्ष २०८२ को शुभारम्भ गरेका छन् । यो अभियानले आन्तरिक तथा बाहृय पर्यटकलाई गिडिदहमा पुगेर प्राकृतिक सुन्दरतासँग रमाउन उत्साहित बनाउने उनको भनाइ थियो । 

उनले भने, ‘कर्णाली आफैंमा पर्यटनका लागि अब्बल क्षेत्र हो । दर्जनौं पाटन, सयौं प्रजातिका जडिबुटीहरुको सुगन्ध र धेरै प्रजातिका चराहरुको चिरविर सुन्दै यात्रा गर्नुमा मज्जा नै बेग्लै हुनेछ ।’

यो भ्रमण वर्षभित्र गिडिदहमा ९ सय जना आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । जसले स्थानीयको आयस्तर बढ्नुका साथै स्वरोजगारमा समेट टेवा पुग्ने विश्वास गरिएको तातोपानी ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । 

गत वर्ष २ सय जना आन्तरिक तथा बाहृय पर्यटकहरु गिडिदहमा पुगेको तथ्यांक तातोपानी गाउँपालिकासँग छ । समुद्री सतहदेखि ३ हजार ४ सय ८५ मिटर उचाईमा अवस्थित गिडिदहको लम्बाई १ हजार ५ सय १० मिटर, चौडाई ३ सय १० मिटर र गहिराई ४२.८ मिटर रहेको छ । 

दहको आकार र गहिराइका हिसाबले कर्णालीमा रारा ताल र से फोक्सुण्डो पछि तेस्रो ठूलो तालका रुपमा रहेको छ ।

गिडिदह पुग्नको लागि पदमार्ग, धर्मशाला, खानेपानी, शौचालय जस्ता पूर्वाधारहरु बनिसकेका छन् । वडाध्यक्ष रोकायाले भने, ‘पछिल्लो समयमा गिडिदहको सुन्दरतामा रमाउन चाहने पर्यटकहरु बढ्न थालेपछि भ्रमण वर्षकै रुपमा मनाउन थालिएको हो ।’

गिडिदहसँगै विष्टज्यु, ठाकुर ज्यु मन्दिर, शिवभण्डार वन, मष्टो देवता, गणेशगुफा, माझपाटन, बजेडीखोला, धप्के पाटन, लामाचौर, फुल चाउले लगायतका पाटनहरुको अवलोकन गर्न सकिनेछ । 

सबैभन्दा महत्त्वपूर्ण त गिडिदह आसपासका क्षेत्रमा लोपोन्मुख रेडपाण्डाको वासस्थान रहेको छ । 

तातोपानी गाउँपालिकाले २०७९ असोजमा पहिलो पटक गिडिदहमै पुगेर पहिलो गिडिदह महोत्सव आयोजना गरेको थियो । पहिलो पटक ८४ जनाको सरकारी टोली पुगेर गिडिदहको अवलोकन गरेका थियो ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully