सम्पर्कविहीन महिलाको ५ दिनपछि शव फेला

चैत महिनामा बेपत्ता ८ मध्ये ३ जना अझै फेला परेनन्

वैशाख ३, २०८२

काशीराम डाँगी

Body found after 5 days of contactless woman

रोल्पा — रोल्पाको माडी गाउँपालिका-६ लाप्चुङ कोला गैरा निवासी भिमप्रसाद घर्तीमगरकी बेपत्ता भएकी श्रीमती ४३ वर्षीया सुस्मिताको ५ दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत चैत २९ गते घरबाट आफन्तको घर जाने क्रममा सम्पर्कविहीन भएकी थिइन्। आफन्तले खोजीका लागि हुलियासहित भावाङस्थित प्रहरी चौकीमा जाहेरी दिएकोमा प्रहरीले खोजी थालेको थियो। प्रहरी चौकीका हवल्दार राम विलाश चौधरीको नेतृत्वमा खोजी टोली खटिएको थियो।

सम्पर्कविहीन महिलाको खोजी गर्ने क्रममा हराएको ५ दिनपछि माडी-५ वली खोलाको बीच भागमा पानीमा घोप्टो परेको अवस्थामा शव फेला पारिएको र उक्त शव ती महिलाको भएको प्रहरीले जनाएको छ। प्रहरीले मंगलबार दिउँसो मात्रै शव फेला पारेको थियो। घटनाको थप अनुसन्धानका लागि घर्तीगाउँ स्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा आधा दर्जन प्रहरीहरूको टोली खटाइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत थापाले बताए।

प्रहरीका अनुसार गत चैत महिनामा महिला ६, बालिका १ र ज्येष्ठ नागरिक १ गरेर ८ जना बेपत्ता भएकोमा महिला २ र बालिका १ जना अझैसम्म फेला परेका छैनन्।

यसैबीच रोल्पामा चैत महिनामा भएका २९ वटा विपतका घटनामा २ जनाको मृत्यु भएको छ। यस क्रममा ४ जना घाइते भए भने करिब साढे २३ लाख बराबरको सम्पत्तिको क्षति भएको प्रहरीले जनाएको छ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully