सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिकाले पालिका भित्रका खोलाबाट गिटी बालुवा उत्खननमा रोक लगाएको छ । जथाभावी उत्खननले खोला मात्र नभई जलचर प्राणी मासिँदै गएकाले पालिकाले वैशाख ३ गतेदेखि भदौ मसान्तसम्मका लागि गिटी बालुवा उत्खननमा रोक लगाएको हो ।
विगतमा स्थानीय घर निर्माण तथा विकासका कामका लागि जथाभावी उत्खनन गरेका भएपनि रोक लगाएको दिनदेखि कसैले पालिका भित्र पर्ने शारदा नदी, लुहामखोला, लंकिनी खोला, घुरखोला, रिखेबगर खोला, पिमखोला, ढुंगीबगर खोलाबाट खोलाजन्य बस्तु गिटी,बालुवा ढुंगा उत्खनन गरेको भेटाएमा कानुन बमोजिम कारवाही गर्ने भएको छ ।
पालिका प्रत्येक वर्ष ठेक्का मार्फत खोलाजन्य बस्तु उत्खनन गर्न ठेकेदारलाई जिम्मेवारी दिएको र यस आबमा डिपिआर मार्फत ९ हजार घनमिटर गिटी बालुवा उत्खनन गर्ने जिम्मेवारी पाएको निरज एन्ड दिपसन निर्माण सेवाले तोके अनुसार उठाइसकेकोले त्यो भन्दा बढी उत्खनन गर्दा खोला मासिने ,पानीको स्रोत घटने, जलचर प्राणी मासिने र भु–क्षय जोखिम बढने भएकाले नै उत्खननमा रोक लगाईएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए ।
स्थानीयले घर निर्माण तथा विकास निर्माणको लागि ठेकेदारले अबका दिनमा निर्माण कम्पनीले उत्खनन गरेर घाटगद्दि गरेर राखेको स्थानबाट किन्नु पर्ने उनले जानकारी गराए । ‘गत वर्षसम्म स्थानीयले घर निर्माण गर्दा र उपभोक्ताले विकास निर्माणको काम गर्दा आफ्नो नजिकको खोलाबाट गिटी बालुवा उत्खनन गरेर काम गर्थे । अबका दिनमा त्यस्तो गर्न पाउने छैनन् । कसैले मनपरी उत्खनन गर्न खोजेमा कानुन बमोजिम कारबाही हुन्छ’ उनले भने ।
पालिका भित्र ठुला ठुला उद्योग नभएको र राजस्व संकलनका लागि अन्य कुनै विकल्प नभएपछि प्रत्येक वर्ष खोलाजन्य जन्य बस्तु उत्खननका लागि ठेक्का आह्वान गर्दा १५/२० लाख राजस्व संकलन हुने गरेको उनको भनाइ छ ।
