वन फँडानीले घट्दै गएको गुराँस, घुम्न जानेहरुबाटै जोगाउन मुस्किल

चैत्र ३०, २०८१

डीबी बुढा

It is difficult to protect the Guras, which are decreasing due to deforestation, from tourists

जुम्ला — पाँचवर्ष अघिसम्म जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित बागदुली वनमा लालीगुराँस फुलेर सिजनमा जंगलै रातो देखिन्थ्यो । यो सिजनामा आन्तरिक तथा बाहृय पर्यटकहरुसमेत अवलोकन गर्न जंगलतिरै भेटिन्थ्ये । जुम्ला सदरमुकाम खलंगा देखि राराताल जाने पर्यटकहरु लालिगुराँस फुलेको देखेर उत्साहित हुन्थे । 

तर अहिले त्यही वनमा लालीगुराँस पाइन छाडेको छ । छिटफुट रुपमा पाइए पनि फुल्न नपाउँदै चुडालिएको अवस्थामा भेटिन्छन् । राष्ट्रिय फूलको रुपमा रहेको लालिगुराँसको बिरुवा जोगाउन कुनै निकायले ध्यान दिन सकेको छैन । 

यतिबेला गुराँस फूले रातै देखिनुपर्ने वनमा पुग्दा हाँगाहरु भाँचिएका र फूल चुडालेको अवस्था देखिने गरेको स्थानीय बताउँछन् । ‘चैत अन्तिमदेखि बैशाखसम्म गुराँस फुलेर वनै राताम्य हुन्थ्यो,’ चन्दननाथ–३ डाँडाकोटका हरिबहादुर सार्की भन्छन्, ‘अहिले त फूलको नजिक जान भीरमै पुग्नुपर्छ । सहज ठाउँमा भएका बिरुवा भाँचिएका भेटिन्छन् ।’

यतिबेला गुराँस अवलोकन र त्यहाँ पुग्नेहरुले भिडियो मात्र खिच्दैनन्, हाँगाबाटै चुँडालेर फूल ल्याउने पनि गरेका छन् । दैनिक दर्जनौंको संख्यामा जाने युवायुवतीले सहज ठाउँका गुराँसका हाँगा भाँच्ने र राम्रोसँग नफूलेकै अवस्थामा चुँडाएर ल्याउनाले पनि वन उराठलाग्दो देखिन थालेको सार्कीको भनाइ छ । 

यस्तै हाँगा भाँचेर ल्याउने मात्र कारण छैन, दाउराका लागि पनि स्थानीयले गुराँसकै रुख काट्ने गरेका छन् । गुराँसको महत्त्व थाह नपाउँदा पनि स्थानीयले रुख काट्ने गरेका छन् ।

चन्दननाथ–३ का कृष्णबहादुर बुढ्थापा भेडा लिएर जंगल जाँदा हाँगा भाँचेर ठूटै पारिएका गुराँसका रुख देख्दा मन खिन्न हुने बताउँछन् । ‘भेटेका बेला त हाँगा भाँचेर फूल नलैजान आग्रह गर्छु । तर कतिलाई भनिसक्ने?’ उनी भन्छन् । 

यतिबेला विद्यार्थीहरु गुराँस हेर्नका लागि वनमा जाने गरेका छन् । फर्किँदा हरेकको हातमा हाँगासहितको गुराँस हुन्छ । 

जिल्लाका आठ वटै स्थानीयतहका ६० वडामा गुराँस पाइन्छ । पछिल्लो समयमा बाहिरबाट आउने हरेक आगन्तुकलाई गुराँसको फूलको माला उनेर लगाएर स्वागत गरिन्छ । 

समुद्री सतहदेखि १ हजार ५ सय देखि ३ हजार मिटरसम्मको उचाईमा लालिगुराँस पाइन्छ । पहिले लालिगुराँसको जंगल नै पाइन्थ्यो तर अहिले जंगल मासेर खोरिया खन्न थालेपछि लोप हुने अवस्थामा पुगेको छ । 

जुम्लामा रातो तथा सेतो चिमाल, सुनपाती, भाले सुनपाती प्रजातिको गुराँस पाइने गरेको छ ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully