घर–आँगनमै पुगेर राष्ट्रिय परिचय–पत्र

चैत्र २९, २०८१

रामचन्द्र न्यौपाने

National identity card by reaching home

डोल्पा — जिल्ला प्रशासन कार्यालय डोल्पाको घुम्ती टोली अहिले जिल्लाका विभिन्न गाउँबस्तीमा पुगेर राष्ट्रिय परिचय–पत्र वितरण सुरु गरेको छ । जनताको घर–दैलोमै पुगेर सेवा दिने मनसायले उक्त टोली घर–आँगनमै पुगेर राष्ट्रिय परिचय–पत्र वितरण गर्न लागेको हो ।

‘जिल्लाको तल्लो भेगमा पर्ने मुड्केचुला गाउँपालिकामा पर्ने नौ वडामध्ये सात वडामा राष्ट्रिय परिचय पत्र वितरणको काम सकिएको छ, आज आठ नम्बर वडामा काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने, ‘अर्को जगदुल्ला गाउँपालिकामा पर्ने दुईवटा वडामा पनि अर्को टोलीले धमाधम राष्ट्रिय परिचय पत्र वितरण गर्ने काम गरिरहेको छ, यसपछि काइके गाउँपालिकामा हाम्रो टोली पुग्नेछ ।’

सामाजिक सुरक्षा भत्ता लिन र बैंक खाता खोल्न राष्ट्रिय परिचय–पत्र अनिवार्य गरिएपछि अहिले घर–आँगनै पुगेर राष्ट्रिय परिचय–पत्र वितरण सुरु गरिएको हो । तल्लो डोल्पाबाट सदरमुकाम दुनै पुग्न एक दिन एक बिहान लाग्ने र खर्च पनि धेरै हुन्छ । जनताले घर आँगनमै सेवा पाऊन् भनेर आफूहरूको टोली जिल्लाका विभिन्न पालिकामा पुगिरहेको प्रजिअ महतले बताए ।

जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घुम्ती टोलीले काम गरिरहेको छ । आवश्यक खर्चपर्चको व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्ने गरेका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट पनि एक जना कर्मचारी घुम्ती टोलीमा समावेश छन् ।

घुम्ती टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पनि गएकाले नागरिकताको प्रतिलिपि पनि वितरण गर्ने काम सँगसँगै भइरहेको प्रजिअ महतले बताए ।

घर आगँगनमै राष्ट्रिय परिचय पत्र बनेपछि मुड्केचुलाबासी खुसीले दंग परेको पालिका अध्यक्ष दत्त शाहीले बताए । ‘हामीले जिल्ला प्रशासनसँग समन्वय गरेरै घुम्ती टोली पालिकामा बोलाएका हौं, उक्त टोलीले विभिन्न वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ, जसले गर्दा स्थानीय धेरै नै उत्साहित छन्,’ उनले भने ।

यही महिनादेखि चालू आवको सामाजिक सुरक्षा भत्तासमेत बैंकको टोली लिएर सम्बन्धित वडामै पुगेर वितरण सुरु गरिएको छ ।

राष्ट्रिय परिचय–पत्रबिना नयाँ खाता खोल्न नमिल्ने र खोलिसकेका खातामा पनि उक्त विवरण थप गर्न अनिवार्य गरिएको माछापुच्छ्रे बैंक त्रिपुराकोट शाखाका प्रबन्धक कृष्ण चालिसेले बताए ।

‘अहिलेलाई एक महिनाभित्र राष्ट्रिय परिचय पत्र नम्बर पेस गर्ने गरी पनि खाता खोल्न सकिन्छ, यदि त्यो अवधिमा पेस नभए स्वतः रद्द हुन्छ,’ उनले भने, ‘गाउँघरका धेरै मान्छेलाई परिचय पत्र चाहिन्छ भन्ने थाहा नै छैन, बैंकमा आउने सर्वसाधारणलाई हामीले यसबारे बुझाएर पनि पठाउने गरेका छौं ।’

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully