वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गरी आफ्नो सरकारका उपलब्धि सार्वजनिक गरेका छन्। २०८० चैत २७ मा नेकपा (माओवादी केन्द्र)को समर्थनमा सरकारको नेतृत्व सम्हालेका कँडेल सत्ता साझेदार परिवर्तनका बाबजुद अघिल्ला साझेदारसँग मिलेर ल्याइएको बजेटको कार्यान्वयन गरिरहेको बताएका छन्।
कर्णालीको चौथो मुख्यमन्त्रीका रूपमा एमालेबाट नेतृत्व सम्हालेका कँडेलले कानुन निर्माणलाई पहिलो प्राथमिकता दिएको जनाएका छन्। एक वर्षको अवधिमा प्रदेश सरकारले स्थानीय सेवा ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, सवारी तथा यातायात व्यवस्था ऐन, विद्युत ऐन, दलित सशक्तीकरण ऐन, बिउबिजन ऐन, विनियोजन ऐन, आर्थिक ऐन, निजामति सेवा (पहिलो संशोधन) ऐन लगायतका कानुन निर्माण गरेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री कँडेलका अनुसार सरकारले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम, र मध्यमकालीन खर्च संरचना तय गरेको छ। पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको भन्दै उनले ९५ किलोमिटर सडक कालोपत्रे, २०५ किलोमिटर ग्राभेल, २३ वटा पक्की पुल, ४२ झोलुङ्गे पुल, र ८ वटा सार्वजनिक भवन निर्माण सम्पन्न भएको जानकारी दिए।
जनता आवास कार्यक्रमअन्तर्गत संघ सरकारतर्फ ६६१, प्रदेश सरकारतर्फ २३१ र विपन्न वर्गका लागि १५६ घर निर्माण भएको छ। रणनीतिक महत्वका मूल पानी रानी घाट, ताल्चा–रारा–गमगढी, हुम्ला–मानसरोवर प्रवेशद्वार र शे–फोक्सोण्डो सडकको निर्माण कार्य सुरु गरिएको पनि उनले बताए।
सवारी ऐन २०८१ लागू भइसकेको र भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण कार्यक्रम लागू भई जाजरकोट, रुकुम पश्चिम र सल्यानमा काम सुरु भएको जनाइएको छ। साथै, प्रादेशिक सडक गुरु योजनाको मस्यौदा आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा रायका लागि पठाइएको छ।
मुख्यमन्त्री कँडेलले गैरजिम्मेवार ठेकेदारहरूलाई कारबाहीको प्रक्रिया अघि बढाइएको र सुशासनको सवालमा आफू निर्मम बनेको दाबी गरे। उनले जथाभावी बजेट वितरण रोकिएको, मनलाग्दी रकमान्तर नियन्त्रण, र उपभोक्ता समितिमार्फत हुने अनियमितता अन्त्य गर्ने पहल गरेको बताएका छन्।
सरकारको दाबी अनुसार चालू आवको फागुन मसान्तसम्म १९ प्रतिशत विकास बजेट खर्च भइसकेको छ भने चैत मसान्तसम्म त्यो ३० प्रतिशत पुग्ने अनुमान गरिएको छ।
मुख्यमन्त्री कँडेलले आफ्नो सरकार परिणाममुखी, उत्तरदायी र सुशासनमा प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा थप उपलब्धिमूलक काम हुने विश्वास पनि व्यक्त गरे।
