लागूऔषधिसहित रोकाया प्रहरी नियन्त्रणमा

चैत्र २३, २०८१

डीबी बुढा

Stopped with drugs in police custody

जुम्ला — जुम्लामा लागूऔषधसहित चन्दननाथ-६ का रविन्द्र रोकाया पक्राउ परेका छन् । उनलाई छिना गाउँदेखि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी छेदीलाल कामतीले रोकायाले लागूऔषध साथमा बोकेर हिँडेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको बताए । 

रोकायाको शरीर कानुनबमोजिम खानतलासी गर्दा ४ पुरीया लागूऔषध भेटिएको प्रहरीले जनाएको छ । नापतौल गर्दा २२० मिलिग्राम भएको लागूऔषधसमेत प्रहरीले बरामद गरेको डीएसपी कामतीले बताए । 

प्रारम्भिक सोधपुछ गर्दा आफ्नो कोठामा लागूऔषध लुकाइराखेको बयान दिएपछि प्रहरीले थप लागूऔषध जन्य पदार्थ बरामद गरेको थियो । 'काठको खटियाको भुइँमा दुई पुरिया भेटियो,' डीएसपी कामतीले भने, ‘नापतौल गर्दा १७० मिलिग्राम थियो । सबै बरामद भएको छ ।’ रोकायालाई प्रहरी हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully