६ महिनादेखि तलब नपाएपछि खाँडाचक्रका शिक्षक आन्दोलित

चैत्र २१, २०८१

तुलाराम पाण्डे

Khandachakra teachers are protesting after not getting salary for 6 months

कालिकोट — सरकारले शिक्षक र विद्यालय कर्मचारीको तलब मासिकरुपमा भुक्तानी दिने राष्ट्रिय स्तरमा सहमति गरेको भए पनि खाँडाचक्र नगरपालिकाका शिक्षक ६ महिनादेखि तलब खान नपाएको गुनासो गर्दै मंगलबार आन्दोलनमा उत्रिएका छन् ।

गत कात्तिकदेखि हालसम्म नगरको बेवास्ता र लाप्रवाहीले शिक्षकले तलब नपाएको भन्दै मंगलबार शिक्षक महासंघ खाँडाचक्र नगर समितिको नेतृत्वमा शिक्षकका पेशागत संघसंगठनका प्रतिनिधिहरुले ५ दिनको अल्टिमेटमसहित नगर प्रमुख कमलबहादुर शाहीलाई दुई बुँदे ज्ञापन पत्र बुझाए ।

शिक्षक महासंघ खाँडाचक्रका अध्यक्ष पवित्रा शाहीको नेतृत्वमा गएको शिक्षकहरुको टोलीले ६ महिनासम्म पनि शिक्षकलाई तलब दिन नसक्नु नगरपालिकाको असक्षमता र गैहृ जिम्मेवारीपना भएको गुनासो गर्दै ५ दिनभित्र सबै शिक्षक कर्मचारीले तलब नपाए चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी दिएको छ । 

‘हामीले ६/६ महिनासम्म कसरी खर्च चलायौं होला ?’  उनले गुनासो पोख्दै प्रश्न गरिन्, ‘नगरका जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलब भत्ता खाइहाल्ने, शिक्षकलाई मात्र पेल्ने प्रवृत्ति कहिले अन्त्य हुन्छ ?’

उनले ६ महिनासम्म विद्यालयमा जाने छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तकलगायतको अन्य खर्च पनि नजाँदा विद्यार्थी मर्कामा परेको बताइन् । ‘आन्तरिक कोष हुने केही विद्यालयले त व्यवस्थापन गरेका छन्’, उनले भनिन् ‘आन्तरिक कोष नहुने विद्यालयमा बाहिरबाट ब्याजमा रकम लिएर दिवा खाजा खुवाइरहेका छन् ।’

सरकारले केन्द्रमा शिक्षक महासंघसाग ०७५, ०७८ र ०८० मा भएको सहमतिअनुसार मासिकरुपमा शिक्षकले तलब भत्ता पाउने प्रावधान भए पनि खाँडाचक्रले बेवास्ता गर्नु गैहृ जिम्मेवारीपना भएको चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले बताए । ‘नगरका अरु कर्मचारीले  नियमित तलब भत्ता खाने, शिक्षकलाई मात्र पेल्ने? यो कस्तो सुशासन हो ?’ उनले नगरपालिका सिष्टमले चल्न नसककोले प्रमुख प्रशासकीय अधिकृत पनि नटिक्ने समस्या रहेको सुनाए । 

शिषक महासंघले नगर प्रमुख शाहीलाई बुझाएको ज्ञापन पत्रमा शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक, संघीय अनुदान तथा नगर अनुदानका सबै शिक्षकको तलब भत्ता निकासा हुनुपर्ने र दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्तिलगायतका अनुदान रकम निकासा हुनुपर्ने माग उल्लेख छ ।

शिक्षकले हालसम्म पनि तलब नपाउनु दु:खद भएको बताउँदै नगर प्रमुख कमलबहादुर शाहीले नगरको शिक्षा युवा तथा खेलकुद शाखाले सबै विद्यालयका कागजात लेखामा बुझाउने वित्तिकै तलब भत्ता निकासी गर्न लगाउने प्रतिबद्धता जनाए । 

तर शाखाका बलिराज शाहीले कागजात तयार पारेर फागुन १८ गते नै लेखा शाखामा बुझाइएको दाबी गरेका छन् । तर, लेखा शाखा प्रमुख अशोक भण्डारीले सबै विद्यालयलाई इलोक्टोनिक, फन्ड टान्सफर (इएफटी) प्रणालीबाट तलब भत्ता दिने नगरको निर्णय भएकाले कागजात नपुगेकाले शिक्षकको तलब रोकिएको बताए । 

यहाँको स्वास्थ्य शाखा अर्न्तगतका कर्मचारीले पनि हालसम्म तलब नपाएको गुनासो गरेका छन् । ३९ वटा विद्यालय, ६४ बाल विकास केन्द्र रहेको खाँडाचक्रमा ३ सय शिक्षक, बाल विकास केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारी रहेको शिक्षा शाखाका प्रास बलिराज शाहीले जानकारी दिए । उनकाअनुसार हालसम्मको तलब भत्ता निकाशा गर्न ५ करोड रकम खर्च हुन्छ । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully