मार्सीभन्दा महँगो फापरको पिठो

यहाँ मार्सी चामलको मूल्य प्रतिकेजी १२० रुपैयाँमात्रै छ। तर फापरको पिठो प्रतिकेजी २०० रुपैयाँले कारोबार भइरहेको छ

चैत्र २०, २०८१

डीबी बुढा

Phapar flour more expensive than Marcy

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिका-७ की मीना महतले गत साता चार क्विन्टल फापरको पिठो बेचिन् । सोचेभन्दा राम्रो भाउ पाएकोमा दंग परिन् । प्रतिकेजी २ सय रुपैयाँमै फापरको पिठो बेचेकी उनले सुनाइन्, ‘जुम्लाको मार्सी चामल सबैभन्दा महँगो भन्थे। यहाँ त मार्सीभन्दा महँगो फापरको पिठो पो रहेछ ।’

चन्दननाथ बहूद्देश्यीय सहकारीले खोलेको अर्ग्यानिक मिनी मार्केटमा पिठो बेचेर ८० हजार रुपैयाँ बोकेर फर्किँदा उनले थाहा पाइन्, मार्सी चामलभन्दा फापरको पिठो झन्डै ८० रुपैयाँले बढी रहेछ । यहाँ मार्सी चामल प्रतिकेजी १२० रुपैयाँले किनबेच भइरहेको छ।

तातोपानी-५ श्रीनगरका पदम रावत हरेक वर्ष फापरको पिठो बेचेरै घर खर्च चलाउने गर्छन् । विगतका वर्ष वार्षिक ३० देखि ४० हजार रुपैयाँ बराबरको पिठो बेचिरहेका उनले यसपाला उनले दुई क्विन्टल फापरको पिठो बेचेर दोब्बर धेरै पैसा हात पारे । उनले भने, ‘बाहिरबाट विभिन्न ब्रान्डको पिठो आउन थालेपछि फापर उत्पादनमा किसानहरू लागेका छैनन् । तर फापरको पिठोमै किसानको भविष्य देखिन्छ ।’

मीना र पदम प्रतिनिधि मात्र हुन् । झन्डै एक सयभन्दा धेरै कृषकले यहाँ व्यावसायिक रूपमै फापर खेती गरेका छन् । तीमध्ये धेरैले फापरको पिठो सुर्खेत, नेपालगञ्ज पुर्‍याउँछन् त केहीले खलंगाका कोसेली घरहरुलाई बेच्छन् । एक किसानले न्यूनतम ५ केजीदेखि अधिकतम ४ क्विन्टलसम्म फापरको पिठो बेच्ने गरेको तथ्यांक चन्दननाथ सहकारीसँग छ। 

चन्दननाथ सहकारीले हरेक वर्ष ३ हजार क्विन्टल भन्दा बढी फापरको पिठो बेच्ने गरेको छ । किसानबाट दुई सय रुपैयाँमा किनेको पिठो सहकारीले उपभोक्तालाई २५० रुपैयाँ प्रतिकेजीमा बेच्छ । चन्दननाथ मिनी मार्केटका म्यानेजर राजु बोहोराले वार्षिक ७ लाख ५० हजार मूल्य बराबरको फापरको पिठो बेच्ने गरेको बताए । भने, ‘फापरको पिठो आन्तरिक तथा बाह्य पर्यटकले समेत लैजान्छन् । एक पटक किनेका पर्यटकहरूले फेरी मगाउने गरेका छन् । काठमाडौँ सुर्खेत,नेपालगञ्ज देखि पनि माग आइरहने गरेको छ ।’ 

सहकारीले सुर्खेत र काठमाडौँमा मिनी मार्केट स्थापना गरेको फापरको पिठो लगायतको अर्ग्यानिक कृषि वस्तुहरू बेचिरहेको छ । खलंगाका झन्डै आधा दर्जन बढी कोसेली घरहरूबाट फापरको पिठो किनबेच भइरहेको छ । यहाँका होटलहरुमा पर्यटकको माग अनुसारको फापरको केक, रोटी समेत बनाउने गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार फापर खेती ९७ हेक्टर क्षेत्रफलमा भइरहेको छ । बर्सेनि ११० मेट फापर उत्पादन हुने गरेको सूचना अधिकारी दीपक धामीले जानकारी दिए । उनले भने, ‘फापरको पिठोको माग अधिक छ । तर किसानहरूले फापर लगाउनै छाडेका छन् ।’ 

अहिले जिल्ला कृषि विकास कार्यालयले रैथाने बाली प्रवर्द्धन कार्यक्रममा फापर खेतीलाई समेत समावेश गरेको छ । सूचना अधिकारी धामीले फापरको बिउ दिने र गोडमेलका लागि औजारहरू दिने गरेको बताए । उनले भने, ‘तालिम दिएर किसानलाई फापर खेतीमा समेत हौसाइरहेको अवस्था छ ।’

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully