वीरेन्द्रनगर — सुर्खेतको पञ्चपुरी नगरपालिका-९ को विद्यापुर जनता बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियुको निर्वाचनमा नेविसंघका चेतन नेपाली विजयी भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा नेपालीले गठबन्धनबाट उम्मेदवार बनेका जनक विष्टलाई १७ मतले पराजित गरे ।
सचिवमा भने गठबन्धनबाट उम्मेदवार बनेका हार्दिक थापाले जित हासिल गरे । उनीसँग नेविसंघकी उम्मेदवार शिक्षा थापालाइ पराजित भइन् । विष्टले १३६ मत ल्याएकोमा थापाले १३२ मत ल्याइन् ।
यस्तै, कोषाध्यक्षमा नेविसंघकी कल्पनाकुमारी थापासँग गठबन्धनबाट उम्मेदवार बनेकी अस्मिता कँडेल पराजित भइन् । थापाले १५२ मत ल्याउँदा कँडेलले १३२ मत ल्याइन् ।सदस्यहरूमा नेविसंघका दिलिप माझी र विमल साक्य विजयी भए ।
