सुर्खेत बराहतालमा सेनाको स्वास्थ्य शिविर

चैत्र १६, २०८१

ज्योति कटुवाल

Army Health Camp at Surkhet Barahtal

काठमाडौँ — सुर्खेतको पश्चिम रानीघाटमा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बराताल गाउँपालिका-२ रानीघाटको सिकारवासमा शनिबार कालीबहादुर गणको आयोजनामा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाही, बालरोग विशेषज्ञ डा. त्रिभुवन भट्टराई, सेनाका सहसेनानी डा. सचित थापा र अभिनाष बस्नेतले सेवा दिएका थिए । यस्तै शिविरमा सुर्खेत आँखा अस्पतालका निर्देशक डा, मन्जु पन्त र नेत्र सायक बविता पुनले आँखासम्बन्धी उपचार सेवा दिएका थिए ।

 शिविरमा प्रसूति तथा स्त्री रोग, आँखासम्बन्धी समस्या, बालरोगसम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच, उपचार तथा औषधि उपचार गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले शिविरमा पुगेका अधिकांश महिलाहरुको पाठेघरमा मुखको संक्रमण बढी देखिएको बताए । महिनावारीमा अत्याधिक रगत बग्ने र पाठेघर खसेका महिलाहरुले सेवा लिएको उनको भनाइ छ ।

Army Health Camp at Surkhet Barahtal

शिविरमै ७२ जनाको भिडियो एक्स-रे समेत गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए । 

सुर्खेत आँखा अस्पताल, नम्बर ४ फिए गुल्म र ज्योति फाउन्डेसनको सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा बराहतालका वडा १ र २ का ४ सय ५१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

बराहतालमा सेनाले पहिलो पटक शिविर चलाएको पालिकाका अध्यक्ष भिम भण्डारीले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully