तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

चैत्र १५, २०८१

विप्लव महर्जन

A 57-year-old man was arrested for raping three girls

सल्यान — तीन जना बालिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले कालीमाटी गाउँपालिकाका ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार ५७ वर्षीय पुरुषले घरनजिकैको पसलबाट पटक-पटक चकलेट किनेर खान दिई ललाई-फकाई आफ्नो कोठामा लगेर तीन बालिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप छ । 

पक्राउ परेका पुरुषलाई जिल्लाको त्रिवेणी गाउँपालिका-६ लुहामबजारमा रहेको इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए । आरोप लागेका व्यक्तिका नाममा जिल्ला अदालत सल्यानमा मुद्दा दर्ता भई अनुसन्धानका लागि म्याद थप भएको छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully