म्याद सकिन ९ महिना मात्र बाँकी छँदा नेपाली सेनासँग बल्ल विस्फोटक पदार्थ खरिद सम्झौता
डोल्पा — ३६ महिनामा सडक निर्माणको प्रगति कति होला ? भेरी करिडोरअन्तर्गत २५ किलोमिटर लामो दुनै–ल्यासीक्याप खण्डको प्रगति भने निराशाजनक छ । सूर्य–श्रेया-शान्ति जेभीले २०७८ चैतमा १३ करोड ४० लाखमा निर्माण सम्झौता गरेको यो सडकको प्रगति १३ प्रतिशत मात्र देखिएको छ ।
कडा चट्टान रहेको क्षेत्रमा प्रयोग गर्नुपर्ने विस्फोटक पदार्थ खरिद प्रक्रिया ढिलाइले निर्माणमा ढिलाइ देखिएको निर्माण कम्पनीको भनाइ छ । ठेक्काको म्याद सकिन नौ महिना मात्र बाँकी रहँदा बल्ल नेपाली सेनासँग विस्फोटक पदार्थ खरिदको सम्झौता भएको छ ।
भारतको रुपैडियादेखि चीन सीमाको मरिम नाका जोड्ने रणनीतिक महत्वको सडक निर्माण अति सुस्त भएपछि जिल्लाको सर्वपक्षीय अनुगमन टोलीले भेरी करिडोर कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग र प्रधानमन्त्री कार्यालयलाई ठेक्का रद्द गर्न अनुरोध गरेको छ ।
‘काम गर्ने समयसीमा नौ महिना बाँकी रहँदासमेत न्यून प्रगति देखिएको छ, निर्माणस्थलमा न कुनै औजार–उपकरण छन्, न कामदार । अनुगमनपछि सम्बन्धित कार्यालयलाई ठेक्का रद्द गर्न लिखित रुपमै अनुरोध गरेका छौं,’ अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायले भने । आफूले जिम्मा लिएको काम सम्पन्न गर्न निर्माण व्यवसायीले कुनै तदारुकता नदेखाएको उनको भनाइ छ ।
भेरी करिडोर कार्यालय जाजरकोटमा छ । तर, करिडोर निर्माण क्षेत्रको धेरै भूभाग डोल्पामा पर्छ । स्थानीयले यो कार्यालय डोल्पा सारिनुपर्ने माग पनि गरेका छन् । ‘कार्यालय डोल्पामा नसारिए यहाँबाट जाजरकोट कार्यालयमै पुगेर ध्यानाकर्षण गराउँछौं,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुनै–ल्यासीक्याप सडक निर्माणको अहिलेको अवस्था हेर्दा ठेकेदार कम्पनीबाट काम हुने सम्भावना नदेखिएको बताए । जिम्मा लिएको काम नगरेर निर्माण व्यवसायी बेखबर बनेकाले सार्वजनिक खरिद नियमावलीअनुसार कारबाही सिफारिस गर्न निर्णय गरिएको प्रजिअ महतले बताए ।
सूर्या–श्रेया–शान्ति जेभीका सञ्चाचालक ध्रुव शाहीले दुनै–ल्यासीक्याप खण्डको कडा चट्टानी भूबनोटमा विस्फोटक प्रयोग गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको बताए । विस्फोटक पदार्थ खरिदका लागि सेनाले महिनौंसम्म अनुमति नदिँदा निर्माणमा ढिलाइ भएको उनको दाबी छ ।
‘यो सडकको ५० प्रतिशतभन्दा धेरै भाग चट्टान मात्र भएकाले प्रगति न्यून देखिएको हो, ठेक्का म्याद बाँकी नै छ, विस्फोटक पदार्थ उपलब्ध भए तोकिएकै समयमा काम सम्पन्न गर्न सक्छु,’ उनले भने । भेरी करिडोर कार्यालय र काइके गाउँपालिकाले ‘जिरो पोइन्ट’बाटै काम गर्न दबाब दिएकाले निर्माणमा प्रगति हुन नसकेको उनले दाबी गरे । ‘त्यसरी काम गर्न हामीसँग विस्फोटक पदार्थ थिएन, चट्टानबाहेकको ठाउँमा काम गर्न दिएको भए प्रगति ५० प्रतिशत धेरै पुग्थ्यो,’ उनले भने, ‘काम गर्छु भन्दाभन्दै ठेक्का रद्द गर्ने प्रक्रियामा गए कानुनी उपचार खोज्छु ।’
काम गर्ने भनेरै ४ हजार घनमिटर जाली, दुई वटा एक्स्काभेटर र एउटा ट्याक्टर निर्माणस्थलमै राखिएको उनको भनाइ छ । सडक निर्माणबापतको १७ प्रतिशत कामको भुक्तानी समेत भइसकेको उनले बताए ।
भेरी करिडोर कार्यालय प्रमुख सुनिल रञ्जितकारले सर्वपक्षीय अनुगमन टोलीले कारबाही गर्न माग गरे पनि ठेकेदारले सम्झौताको कार्यतालिकाअनुसार काम नगरे बल्ल ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् । ‘लामो समयसम्म विस्फोटक खरिद नहुँदा निर्माण व्यवसायीलाई काम गर्न असहज पक्कै भएको हो तर, व्यवसायीले समथर भूभागमा समेत काम नगर्दा प्रगति न्यून देखिएको छ,’ उनले भने, ‘विस्फोटक व्यवस्थापन गर्न कहिले गृह मन्त्रालय त कहिले रक्षा मन्त्रालय र कहिले भौतिक पूर्वाधार मन्त्रालय गर्दा धेरै समय लागेको हो ।’
गत मंगलबार मात्रै सेनासँग समझदारीमा हस्ताक्षर भएकाले विस्फोटक खरिद प्रक्रियामा अझै केही महिना लाग्ने उनले बताए । ‘गत कात्तिकमा भेरी करिडोर कार्यालयलाई विस्फोटक पदार्थ उपलब्ध गराउने रक्षा मन्त्रालयमा निर्णय भएको हो, उतिबेला एक महिनाभित्र व्यवस्थापनका लागि सम्झौता भएर काम सुरु हुन्छ भन्ने आश्वासन थियो,’ कार्यालय प्रमुख रञ्जितकारले भने, ‘पाँच महिनापछि मंगलबार मात्र डोल्पाको सुलिगार्डमा रहेको संग्राम शार्दुल गुल्मसँग समझदारीपत्रमा हस्ताक्षर भयो ।’
दुनै–ल्यासीक्याप सडक निर्माणलाई पूर्णता दिन यसअघि कर्मचारी अभाव थियो । ‘भर्खरै तीन जना प्राविधिकको पदस्थापना भएकाले अब इन्जिनियरहरु डोल्पामै बसेर काम गराउनुहुन्छ,’ उनले भने ।
त्रिदेशीय नाका जोड्ने यो सडक थप ३५ किलोमिटर निर्माण हुन बाँकी छ । ल्यासीक्यापदेखि सिसौलसम्म करिब ३५ किलोमिटर थप निर्माण भए मरिम नाकाबाट सिसौलसम्म ४० किलोमिटर ट्रयाक खुलिसकेको छ । ल्यासीक्याप–सिसौल खण्ड निर्माणको जिम्मा सेनालाई दिने तयारी भइरहेको करिडोर कार्यालय प्रमुख रञ्जितकारले बताए ।
जिल्लाका आठ स्थानीय तहका धेरैजसो बस्तीमा सडक पुगे पनि काइके गाउँपालिकामा पर्ने सहरतारा, टुप्पातारा, बैजीबाडा लगायतका गाउँमा सडक पुग्न सकेको छैन । डोल्पासम्म राष्ट्रिय सडक सञ्जाल जोडिएर सिधा बस सेवा सुरु भइसक्दासमेत काइकेका बासिन्दा घण्टौं हिँडेर सदरमुकाम आवतजावत गर्न बाध्य छन् । उनीहरुले उपभोग्य सामग्री घोडा, खच्चड र आफैले बोकेरै ढुवानी गर्नुपरेको छ ।
सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दासमेत ठेकेदारले काम नगरेपछि दबाबस्वरुप अनुगमन गरिएको काइके गाउँपालिका अध्यक्ष अंगत रानाले बताए । भेरी करिडोरअन्तर्गत डोल्पामा पर्ने ल्यासीक्यापदेखि सिसौलसम्मको ३२ किलोमिटर कडा चट्टानी भूभागयुक्त छ ।
