डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एकै परिवारका छ घाइते 

चैत्र ८, २०८१

रामचन्द्र न्यौपाने

Six of the same family were injured in a tractor accident in Dolpa

डोल्पा — डोल्पाको मुड्केचुला गाउँपालिका-७ सर्मीमा बिहीबार बेलुकी ट्र्याक्टर दुर्घटना हुँदा एकै परिवारका छ जना घाइते भएका छन्।

सोही वडाको कोट भन्ने ठाउँबाट सर्मी आउँदै गरेको लु ५ त १२५५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ३३ वर्षीय जनक बुढा, उनकी श्रीमती २८ वर्षीय धनशोभा बोहोरा ,छोरी ७ वर्षीय अदिक्षा बुढा, भिनाजु ६० वर्षीय पदम रावल, भतिजो १५ वर्षीया अंकित बुढा र आफन्त पर्ने १७ वर्षीय ऋतेश रावल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए। घाइते छ जनामध्ये दुई जनाको अवस्था गम्भीर भएको उनको भनाइ छ ।  

प्रहरीका अनुसार ट्र्याक्टर धनी जनक बुढा रहेको र उनको टाउकोमा गम्भीर चोट लागेको छ । त्यसैगरी अदिक्षा बुढाको पेटमा गहिरो चोट छ । धनसरा बोहोराको पनि अनुहार खुट्टामा चोट छ । घाइते सबैलाई उपचारकालागि सुर्खेततर्फ लगिएको छ । जाजरकोटको नलगार्ड नगरपालिका स्थायी घर भएका चालक बिजय पुनमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully