सल्यान — जिल्लाको विभिन्न स्थानमा रहेका सात क्याम्पसमध्ये चार क्याम्पसमा भएको स्ववियु निर्वाचनमा दुईमा अखिल क्रान्तिकारी, एकमा नेबिसंघ र एकमा अनेरास्ववियुका विद्यार्थी अध्यक्षमा निर्वाचित भएका छन् ।
शिवजन बहुमुखी क्याम्पसमा नेविसंघका संजय हमाल, सल्यान बहुमुखी क्याम्पसमा अनेरास्ववियुका विशाल पुन, जनकल्याण क्याम्पस थारमारेमा अखिल क्रान्तिकारीका गणे वली र फारुला क्याम्पस दार्मामा अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी हीमा शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।
शिवजन क्याम्पसमा अध्यक्ष पदमा निर्वाचित संजय हमालले अखिल क्रान्तिकारीका रोशन खड्कीलाई सय बढी मतले पराजित गर्दै विजयी भएका थिए । हमालले १ सय ९४ र प्रतिद्वन्द्व खड्कीले ८७ मत ल्याएका थिए । सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गमा अध्यक्ष पदमा निर्वाचित विशाल पुनले १ सय २० मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी शितल कवरले ३० मत ल्याएका थिए ।
दार्मा गाउँपालिकामा रहेको फारुला क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तिकारीकी विद्यार्थी हिमा शर्माले ६५ मत ल्याएकी थिइन् भने प्रतिद्वन्द्वी निकेश देवकोटाले ५१ मत ल्याएका थिए । यस्तै जनकल्याण क्याम्पस थारमारेमा अध्यक्ष पदमा निर्वाचित गणे वलीले १ सय ९६ र प्रतिद्वन्द्व फलेन्द्र पुरीले १ सय ७८ मत ल्याएका थिए । मंगलबार चार क्याम्पसमा भएको निर्वाचनमा १ हजार ७ सय ३ जना मतदाता रहेकामा जम्मा ९ सय ६२ मात्र मत खसेको थियो ।
सल्यान १० स्थानीय तहमा सात क्याम्पस रहेकामा यसअघि नै जिल्लाको बन्गाड क्याम्पसमा अखिल क्रान्तिकारीका जीवन विष्ट, कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघका झलक वली र शारदा क्याम्पस शंखमुलमा अनेरास्ववियुका विस्व खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भैसकेका छन् ।
स्ववियु निर्वाचनमा नेविसंघ/अनेरास्ववियु र अखिल क्रान्तिकारी/ अखिल समाजवादी विद्यार्थी संगठनले गठबन्धन गरेका थिए ।
