बस गुड्न थालेपछि जुफाल विमानस्थल सुनसान

सडक सुविधासँगै डोल्पाबाट नेपालगन्ज र काठमाडौंसम्म बस सञ्चालन हुन थालेपछि हरायो जुफाल विमानस्थलको रौनक

चैत्र ५, २०८१

रामचन्द्र न्यौपाने

Jufal airport is deserted after the bus starts moving

डाेल्पा — विगतका वर्ष फागुनदेखि चैतसम्म विमान कम्पनीलाई नेपालगन्ज–डोल्पा यात्रु बोक्न भ्याइ नभ्याइ हुन्थ्यो । बिरामीदेखि अत्यन्तै जरुरी परेर नेपालगन्ज जान चाहने यात्रुले पनि टिकटका लागि अनेकतिर दौडधुप र बिन्ती बिसाउनुपर्ने बाध्यता थियो ।

२०८० फागुनदेखि डोल्पाबाट सिधै नेपालगन्ज र सुर्खेतसम्म लामो दूरीका दिवा तथा रात्रि बस सुरु भएपछि डोल्पाको अवस्था फेरिएको छ । अनि फेरिएको छ, हवाई टिकटका लागि अनेकतिर हारगुहार गर्नुपर्ने सर्वसाधारणको बाध्यता पनि ।

जाजरकोटको पासा गार्डदेखि दुनैसम्मको ११८ किलोमिटर लामो भेरी करिडोरअन्तर्गत तल्नुबगर, करोपगार्ड, खदाङ, त्रिपुराकोट, रुपगार्डमा बेलिब्रिज पुल बनेपछि डोल्पासम्म सिधा बस सेवा सुरु भएको थियो । अहिले काठमाडौँ, नेपालगन्ज, सुर्खेतबाट सिधै यात्रुवाहक बस डोल्पा पुग्छन् । यसको सोझो असर वायुसेवामा पर्न थालेको छ ।

बस सेवा सुरु हुन थालेपछि जुफाल विमानस्थल सुनसान देखिन थालेको छ । त्रिपुरासुन्दरी नगरपालिका-१ का दुर्गाप्रसाद देवकोटाले डोल्पावासीलाई विमान कुर्नुभन्दा बसमै यात्रा गर्नु सजिलो भएको बताए । अहिले डोल्पाबाट नेपालगन्जका लागि दैनिक दुई बस र काठमाडौँका लागि एक बस छुट्छन् । काठमाडौँ जाने बस डोल्पाबाट जाजरकोट, रुकुम पूर्व, बागलुङ, पोखरा हुँदै जान्छ भने नेपालगन्ज जाने बस रुकुम, जाजरकोट, सल्यान हुँदै सुर्खेत भएर जान्छ ।

‘आजभन्दा एक वर्ष अघिसम्म विमानको टिकट पाउन ठूलै पावर लगाउनुपर्ने बाध्यता थियो । अहिले अवस्था ठ्याक्कै उल्टो छ,' देवकोटाले भने, ‘सडक सुविधा पुगेपछि मान्छेहरू सबै बसमा यात्रा गर्छन् ।’

डोल्पावासीले हवाई सुविधालाई आकस्मिक र बाध्यात्मक विकल्पको रूपमा मात्र प्रयोग गर्न थालेपछि हवाई सेवाको व्यापार दिनप्रतिदिन घट्दै गएको एयरलाइन्स कम्पनीहरूले नै बताउँछन् । तारा एयरलाइन्स नेपालगन्ज कार्यालयका सुपरभाइजर भूपी राईका अनुसार डोल्पाका लागि यात्रु र कार्गो सामान पाउन छाडेपछि नियमित उडान घटाइएको छ । ‘कुनै बेला एकै दिनमा तीन वटासम्म उडान हुने गरे पनि अहिले सातामा एक दिन उडान तालिका राख्दासमेत यात्रु पाइँदैन । खाली जहाज पनि त उडाउन सकिँदैन ।’

तारा एयरलाइन्स जुफालका प्रमुख चन्द्र शाहीले गाडीमा भाडा दर पनि सस्तो, भने जति सामान सँगै लैजान मिल्ने भएपछि डोल्पाबाट विमानका यात्रु पाउनै मुस्किल रहेको बताए । ‘डोल्पाबाट नेपालगन्ज विमानको भाडा ६ हजार ७ सय छ, प्रतिकिलो सामान लिएको ४५ सय तिर्नुपर्छ तर बसमा विमानको आधा रकममै नेपालगन्ज-सुर्खेत पुगिन्छ ।’ उनले बिहान हिँडेको यात्रु बेलुका ६ बजेतिरै नेपालगन्ज पुग्ने भएकाले पनि बस यात्रा धेरैको रोजाइमा परेको बताए । नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले एयरलाइन्सले साप्ताहिक रूपमा उडान तालिका राखे पनि मान्छे नभएर उडान कम भइरहेको बताए ।

संयुक्त यातायात समिति डोल्पा त्रिपुराकोटका काउन्टर इन्चार्ज हरि कुलाल प्रत्येक दिन डोल्पा पुग्ने यात्रुवाहक बस खचाखच हुने गरेको बताउँछन् । ‘बिहान चढेको बस बेलुकी नै नेपालगन्ज पुग्छ, पाँच हजार भाडा तिरेपछि एक दिनमै काठमाडौँ पुग्न सकिन्छ । त्यसैले धेरैको रोजाइमा बस नै पर्न थालेको छ ।'  

सुनसान जुफाल विमानस्थल

तारा एयरलाइन्स जुफालका प्रमुख चन्द्र शाहीले गाडीमा भाडा दर पनि सस्तो, भने जति सामान सँगै लैजान मिल्ने भएपछि डोल्पाबाट विमानका यात्रु पाउनै मुस्किल रहेको बताए । ‘डोल्पाबाट नेपालगन्ज विमानको भाडा ६ हजार ७ सय छ, प्रतिकिलो सामान लिएको ४५ सय तिर्नुपर्छ तर बसमा विमानको आधा रकममै नेपालगन्ज-सुर्खेत पुगिन्छ ।’

उनले बिहान हिँडेको यात्रु बेलुका ६ बजेतिरै नेपालगन्ज पुग्ने भएकाले पनि बस यात्रा धेरैको रोजाइमा परेको बताए । नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले एयरलाइन्सले साप्ताहिक रूपमा उडान तालिका राखे पनि मान्छे नभएर उडान कम भइरहेको बताए ।

संयुक्त यातायात समिति डोल्पा त्रिपुराकोटका काउन्टर इन्चार्ज हरि कुलाल प्रत्येक दिन डोल्पा पुग्ने यात्रुवाहक बस खचाखच हुने गरेको बताउँछन् । ‘बिहान चढेको बस बेलुकी नै नेपालगन्ज पुग्छ, पाँच हजार भाडा तिरेपछि एक दिनमै काठमाडौँ पुग्न सकिन्छ । त्यसैले धेरैको रोजाइमा बस नै पर्न थालेको छ ।'  

विमानस्थल  छेउछाउका होटल सुनसान

जुफाल विमानस्थलमा चहलपहल घटेपछि यसको सोझो असर छेउछाउका होटल व्यवसायमा परेको छ । हवाई यात्रीलाई लक्षित गरेर जुफाल बजारमा खोलिएका होटेल सुनसान देखिन्छन् । उडान संख्या घटेपछि र यात्रुको संख्या कम भएपछि चहलपहल त कम छ ।

जुफालमा माउन्ट पुथा, होटल त्रिपुरा, होटल समृद्धिजस्ता दर्जनौँ स्तरीय होटल सञ्चालनमा छन् । होटल त्रिपुराका सञ्चालक बालकृष्ण डाँगीले भने, ‘जहाज आउन छाडेपछि होटलका सबैजसो कोठा खाली छन् ।’ उनले १५ वर्षअघि खोलेको होटलमा पहिला पहिला सामान्य कोठा हुँदा पनि भरिभराउ हुने गरेको तर अहिले सुविधा थप्दासमेत सेवाग्राहीको संख्या घटेको सुनाए ।  सडक विस्तार भएसँगै व्यवसायमा आधाभन्दा धेरैले व्यापार घटेको उनको भनाइ छ ।

होटल समृद्धिका सञ्चालक हरिशरण केसीका अनुसार निजी तथा सरकारी विमान आउन छाडेपछि दुई वर्षअघि लाखौं लगानीमा खोलेको आफ्नो होटल सुनसानजस्तै भएको बताए । ‘जुफालमा विमानस्थल भएकै कारण होटल पसल खुलेका हुन् । तर अहिले विमान  आउँदैनन्, अनि ग्राहक पनि घटे । यस्तै हो भने धेरै होटल पसल बन्द हुन्छन् ।’

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully