सल्यान — बन्गाड कुपिण्डे नगरपालिकामा किसानले खेतमा लगाएका गहुँबालीमा सिन्दुरे रोगको प्रकोप फैलिएको छ । वडा नं ५ च्युरा, ६ सुनौलीबजार, ७ ढोरपिपल, ८ गैरीकटेरी लगायत आसपासमा किसानले २ हजार बढी रोपनीमा लगाएको गहुँबालीमा सिन्दुरे रोगको प्रकोप देखिएको हो।
हिउँदमा वर्षात् नहुँदा धमाधम पाखोबारीका गहुँ बाली दाना नलाग्दै सुकेर नष्ट भएका बेला बाँकी रहेको बालीमा समेत रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित छन्। रोगका कारण उत्पादनमा थप गिरावट आउने देखिएपछि पालिकाका चार वडाका २ सय बढी किसान प्रभावित भएका छन्।
वडा नं. ७ का किसान प्रेम बोहराले आफ्नो सात रोपनी जग्गामा लगाएको गहुँबालीमध्ये दुई रोपनीमा लगाएको गहुँबालीमा सिन्दुरे रोगको प्रकोप देखिएको बताए । रोगका कारण गहुँबाली फस्टाउन नसकेको उनको भनाइ छ।
‘सिन्दुरे रोग पहिला अलि सेपिलो जग्गामा लगाएको गहुँबालीमा लाग्थ्यो । वर्षात् कम भएपछि रोग हराउँदै जान्थ्यो । त्यही भएर यसपाली रोग लागेपनि विषादी प्रयोग गर्ने बारेमा चासो दिइन् । अहिले झनै फैलिएको छ,’ उनले भने । रोगका बारेमा पालिकामा जानकारी गराएको र पालिकाले रोग नियन्त्रणका लागि विषादी उपलब्ध गराउन थालेको उनले बताए।
च्युराका किसान निर्मल बिष्टले आफ्नो मात्र नभई धेरैको खेतमा लगाएको गहुँबालीमा रोग लागेको बताए । हिउँदमा वर्षात् नभएपछि धेरै सिँचाइ गरेको र त्यसपछि हवात्तै रोग देखिएको उनको भनाइ छ। उनका अनुसार रोगका कारण गहुँका बोट नै मर्न थालेका छन्। रोग नियन्त्रणका लागि सहयोग गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।
यता बन्गाड कुपिण्डे नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद बेल्बासेले चिसोका कारण सिन्दुरे रोग लाग्ने भएपनि यसपाली हिउँदमा पानी नपरेको र पालिकाका केही किसानले हाईब्रिड बिउ ल्याएर लगाउँदा त्यसमा रोग लागेपछि हावाका कारण चारैतिर फैलिएको देखिएको बताए।
सिन्दुरे सरुवा रोग भएकाले अहिले धेरै किसानको खेतमा लगाएको गहुँबालीमा असर पुर्याएको उनले जानकारी गराए । रोग नियन्त्रणका लागि अहिले पालिकाले विषादी खरिद गरेको र वितरण गर्ने तयारी गरेको उनको भनाई छ ।
कृषि विकास कार्यालयका सुचना अधिकारी ईस्वरी नारायण घर्तीले बन्गाडमा गहुँबालीमा सिन्दुरे रोग लागेपनि अहिलेसम्म कसैले जानकारी नगराएका बताए । उनका अनुसार बन्गाड कुपिण्डेमा मात्र नभई जिल्लाका अन्य पालिकामा पनि फाटफुट यो रोग देखिएको छ।
