खुकुरी प्रहारबाट एक किशोरको हत्या, एक घाइते

फाल्गुन २९, २०८१

तुलाराम पाण्डे

One teenager was killed, one injured in a gunfight

कालिकोट — खाँडाचक्र नगरपालिका-१० चौकीमा खुकुरी प्रहारबाट एक १७ वर्षीय किशोरको हत्या भएको छ। बुधबार राति हस्तबहादुर मल्लको घरको (पछेटा) नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा खुकुरी प्रहारबाट तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको छ भने १६ वर्षीय भूपेन्द्र शाही घाइते छन्।

आफन्तको घरमा रमाइलो हेर्न आएका किशोरहरूबीच झगडा हुँदा खुकुरी प्रहारबाट किशोरको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण केसीले भने, 'घटनामा संलग्नलाई पक्राउ गरेका छौँ।'

सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा बिहीबार बिहान कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली पुगेर घटना संलग्नलाई नियन्त्रणमा लिएको छ भने मृतकको शव पोस्टमार्टमको लागि सदरमुकाम ल्याइँदै छ।

घटनामा संलग्न १८ वर्षमुनिका ५ जनालाई नियन्त्रणमा लिएका छौँ। डीएसपी रावतले भने, 'थप अनुसन्धान हुँदै छ।'

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully