किशोर हत्या आरोपमा ६ जना पक्राउ

फाल्गुन २९, २०८१

तुलाराम पाण्डे

6 arrested on charges of juvenile murder

कालीकोट — खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संग्लन ६ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । दुई गाउँका किशोरहरूबीच झगडा हुँदा कुटपिट र चक्कु प्रहारबाट तिलागुफा नगरपालिका ७ छाप्रेका १७ वर्षीया राजेश शाहीको मृत्यु भएको थियो । त्यस्तै १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका थिए । 

बुधबार राति खाँडाचक्र-१० चौकीस्थित हस्तबहादुर मल्लको घरको (पछेटा) नयाँ घरको पूजा र रमाइलो हेर्न आएकाबीच  कुटपिट र चक्कु प्रहारमा संग्लन खाँडाचक्र ९ दशला घर भएका ६ जना किशोरलाई पक्राउ गरिएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए।

'सुरुमा कुटपिट गर्ने ५ र अन्तिममा चक्कु हान्ने १ गरी ६ जना पक्राऊ परेका छन्,' डीएसपी रावतले भने, 'सोधपुछका लागि घरमा पछेटा (नयाँ घरको पूजा आयोजना) गर्ने घर धनीका पती-पत्नीलाई पनि मान्म ल्याइएको छ ।'

सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकीगाउँमा बिहीबार बिहान कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली पुगेको थियो । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully