जुम्ला — जुम्लाको प्रदेश क्षेत्र (ख) स्थित सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सन्तोष आचार्य दोहोरिएका छन् ।
क्याम्पसमा रहेका चार संगठनबीचको आपसी सझदारीका आधारमा उनी दोस्रो पटक क्याम्पस सभापतिमा निर्विरोध चयन भएका हुन् ।
सिंजा क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ र अखिल समाजवादी विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि संगठन दर्ता गरेका थिए । उनीहरुले निर्वाचन गरेर क्याम्पसमा हुल हुज्जत गर्नुभन्दा मिलेर क्याम्पस बनाउने अभियानमा लाग्ने प्रतिबद्धतासहित आचार्यलाई दोहोर्याएका हुन् ।
क्याम्पस प्रमुख तिर्थबहादुर नेपालका अनुसार अखिल क्रान्तिकारीका आचार्य सभापति, उपसभापतिमा अनेरास्ववियुका महेन्द्रराज बम, सचिवमा नेविसंघकी राजिन्दा शाही र कोषाध्यक्षमा अखिल समाजवादीका तुलाराज तिरुवा निर्विरोध चुनिएका छन् ।
सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोबिन्द बम निर्वाचित भएका छन् । सिंजा बहुमुखी क्याम्पसमा १८० जना विद्यार्थी अध्ययनरत छन् । २०६७ सालमा स्थापना भएको क्याम्पस सिंजा क्षेत्रको एकमात्र क्याम्पस हो ।
क्याप्सन : सिंजा क्याम्पसमा दोस्रो पटक चुनिएका क्याम्पस सभापति सन्तोष आचार्य । तस्बिर : कान्तिपुर
