भेडीगोठको भोटे कुकुर : रक्षक पनि, साथी पनि

फाल्गुन २६, २०८१

महेश केसी

Vedigoth's dog: protector, companion

रुकुम पश्चिम — मुसिकोट नगरपालिका–७ स्थित ठूलीदह नजिकै घना जंगलको बीचमा भेडाको चहलपहल छ । अनि छन् गोठालाहरु पनि । भेडाहरु रातदिन बाहिरै रहन्छन्, गोठाला भने त्रिपालको अस्थायी टहरामा । यी सबैको रक्षक हो, भोटे कुकुर ।

हिउँदमा हुने चिसो छल्न यहाँका होचा पहाडमा गत पुसमा आइपुगेका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ तकसेराका भेडा गोठालाहरु अब फर्किने तरखर गर्दैछन् । जब कोही अपरिचित मान्छे गोठको नजिक पुग्छ तब भोटे कुकुरको ‘हाउ... हाउ...’ ले पूरा रनवन नै गुञ्जिन्छ । अनि त्यो नयाँ मान्छे नजिक आउने आँट नै गर्न सक्दैन । परैबाट कराएर गोठालाले नबोलाएसम्म गोठतिर जान त परको कुरा राम्रोसँग हेर्न पनि दिँदैनन् भोटे कुकुरले । 

गोठाला वीरमान बुढाले भोटे कुकुर नै आफूहरुसँगै सयौं भेडाको रक्षक भएको बताए । ‘हामी त गोठमा बस्छौं । हाम्रो सम्पत्ति भनेकै भेडा हुन् । अनि घरमा केही खानेपिने अन्नपात र कपडा–लत्ता पनि हुन्छ । यसको रेखदेखको पहिलो जिम्मेवारी नै कुकुरको हो,’ उनले भने, ‘यसले को आफ्नो, को बिरानो सबै चिन्छ । र त्यही अनुसार व्यवहार गर्छ । हामीले कसैलाई गोठमै बेलाएर स्वागत गरेपछि र उनीहरुसँग झ्याम्मेपछि भने यसले चिनेर व्यवहार गर्छ ।’ 

तीन घरपरिवार भेडा चराउन ठूलीदह आएका छन् । उनीहरुसँग एक घरका दुई वटा गरेर छ वटा भोटे कुकुर छन् । उनीहरुका १० वटा छाउरा छन् । ती छाउरालाई केही पाल्ने र केहीचाँहि बेच्ने गरेको वीरमान बताउँछन् । एउटा कुकुरको मूल्य सानोलाई ५ देखि १० हजारसम्म अनि ठूलोलाई २५ देखि ४० हजारमा बेच्ने गरेको उनको भनाइ छ । 

माउ कुकुरभन्दा भाले कुकुरले रक्षकको काम गर्ने बताउँदै अर्का गोठाला कृष्णबहादुर मगरले किन्नेहरुले पनि भाले कुकुरकै माग धेरै गर्ने गरेको बताए । ‘माउभन्दा भाले तगडा हुन्छ । यसकारण हामी हेरालोका रुपमा भाले कुकुर नै राखेका छौं,’ उनले भने । 

बाघ नै मार्न सक्ने शक्ति भएको भोटे कुकुर दिनमा गोठमै गोठाला हुने भएकाले आराम गरेर बस्छ भने रातमा पूरा सक्रिय हुन्छ । कृष्णबहादुर थप्छन्, ‘दिउँसो त गोठमा हामी पनि हुन्छौं नि त यसकारण आराम गरेर बस्छ । तर रातमा त यसले पात पनि खस्न दिन्न । पूरा जागा रहन्छ । अनि चार दिशा बडो सजक भएर हेरिरन्छ ।’ 

दिनमा दुईचोटि साँझ र बिहान यसलाई खाना खुवाउने गरेको गोठालाहरु बताउँछन् । ‘यसलाई मासु, ढिँडो अनि भेडाको दूध खुवाउँछौं,’ वीरमान भन्छन्, ‘खाना पनि एकदम दबाएर खान्छ अनि काम पनि यसको धेरै नै महत्त्वको छ । एउटा मान्छे र कुकुरमाथिको खर्च लगभग बराबरै हुन्छ ।’ 

गोठालाका अनुसार तीन महिना गर्भिणी भएपछि बच्चा पाउने भोटे कुकुरले दुई वर्षको अन्तरालमा बच्चा पाउँछ । र, यसको आयु ४० वर्षसम्म हुन्छ । खासगरी उच्च पहाडी र हिमाली भेगमा आफूलाई अनुकूलित गर्ने यो जातको कुकुरलाई सानैमा (छाउरो हुँदै) बेँसीमा राखेमा भने त्यहाँ पनि बाँच्न सक्छ । 

Vedigoth's dog: protector, companion

तर भोटे जातकै भए पनि यसले गर्ने काम भने वातावरणअनुसार हुने मनकुमारी बुढा बताउँछिन् । ‘हाम्रो त यहाँ कुकुरलाई सिकारका लागि सानैदेखि दौडाउनेदेखि अनेक तालिम दिइन्छ । कोही नयाँ मान्छे, जनावर वा चिजवस्तु देखेपछि रिसाउने बनाइन्छ । यसलाई मायाभन्दा धेरै रिसाहा बनाइन्छ । यसकारण यो आक्रामक स्वभावको हुन्छ,’ उनले भनिन्, ‘जनावर भए पनि जस्तो सिकायो उस्तै सिक्ने त हो । यसकारण हामी यसलाई मान्छेझैं बाठो बनाउँछौं । र त हामीले भनेको बुझेर त्यही अनुसार व्यवहार गर्छ ।’

भोटे कुकुरको किनबेच व्यावसायिक हिसाबले नहुने किसानहरु बताउँछन् । खासगरी घरायसरी सुरक्षाका लागि नै कुकुर पाल्ने गरिएकाले यसतर्फ उनीहरुको ध्यान हुँदैन । तर कहिलेकसो धेरै छाउरा हुँदा रहर गर्नेहरुले गोठमै आएर अथवा पठाउन लगाएर बेच्ने गरेको उनीहरु बताउँछन् ।’  

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully