हिंसापीडित महिलाले खोले ‘दिमा आमाघर’

फाल्गुन २५, २०८१

डीबी बुढा

Victims of violence opened 'Dima Amaghar'

जुम्ला — जुम्लामा हिंसापीडित महिलाहरु मिलेर दिमा आमाघर स्थापना गरेका छन् । हिंसापीडित महिलाहरुको शसक्तिकरण,आपतकालीन आश्रय र न्यायका लागि वकालत गर्ने हेतुले दिमा आमा घर स्थापना भएको हो ।

आधुनिक महिला जागरण प्रालिका अध्यक्ष दिलमाया शाहीको अध्यक्षतामा हिंसामा परेका ७ जना महिला मिलेर दिमा आमाघर खोलेका हुन् । चन्दननाथ नगरपालिका ६ मा खोलिएको आमाघरको उद्घाटन जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले गरे ।

उनले दिमा आमा घरले हिंसामा परेका महिला पुरुष जो सुकैलाई आश्रय दिनुपर्ने बताए । पत्रकारसमेत रहेकी शाहीले पत्रकारीता क्षेत्रमा रहँदा हिंसापीडित महिलाहरुको समस्याले दिमा आमा घर खोल्न प्रेरणा मिलेको बताइन् । 

‘अहिले कानुनी सहायता खोज्ने क्रममा सदरमुकाम खलंगामा आइपुग्ने महिलाहरु असुरक्षित छन्’, उनले भनिन्, ‘जसका लागि दिमा आमा घर एक कोसेढुंगा सावित हुनेछ ।’

दिमा आमा घरले पिडितलाई अल्पकालीन आश्रय दिनुका साथै कानुनी प्रक्रियामासमेत सघाउने अध्यक्ष शाहीको भनाइ छ । घरबाट निकालिएका, हिंसा सहेर न्याय खोज्न आएका महिलाहरूका लागि यो आमाघर पहिलो सुरक्षित स्थान बन्ने आशा गरिएको छ । 

बलात्कार पीडित बालिकाहरूलाई पनि आवश्यक आश्रय, स्वास्थ्य उपचार तथा न्यायका लागि पैरवी गर्ने व्यवस्था दिमा आमा घरको विधानमा उल्लेख छ । 

दिमा आमा घरमा हाल तीनवटा आराम कक्ष, एक भान्साघर र कार्यालय कक्ष रहेका छन् ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully