सुर्खेत — सीमित साधन र स्रोतका बाबजुद पनि नेपाल प्रहरीको कार्यकुशलता देख्दा खुसी लाग्ने गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् ।
वीरेन्द्रनगरमा सुरु भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै कँडेलले राजनीतिक परिवर्तनपछि राज्य व्यवस्थाप्रति नागरिकका अपेक्षा र महत्वाकांक्षा बढेकाले अधिकारमुखी अवधारणा विकास भएको बताए ।
‘समाजमा चेतना र अधिकारको यो अभिवृद्धिसँगै अपराध अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियामा नागरिक सहभागिता र निगरानी पनि बढेको छ,' उनले भने, ‘पछिल्लो समय कसुरका प्रकार र संख्या बढेको छ । कसुरको प्रकृति र प्रवृत्ति फेरिएसँगै प्रहरीले अपराध अनुसन्धान अभियोजनलाई वैज्ञानिक र वस्तुगत प्रमाणमा आधारित बनाउनुपर्ने दायित्त्व बढेको छ । यो नेपाल प्रहरीको प्रमुख जिम्मेवारी पनि हो र यसलाई संगठनले अवसरको रुपमा लिनुपर्दछ ।’
अपराधमा आएको स्वरुपको सुक्ष्म सर्वेक्षण गरी फौजदारी कानुनमा सुधारका लागि यससँग सम्बद्ध निकायहरुबीच सहकार्यको अझ बढी आवश्यकता देखिने उनको भनाइ छ । उनले भने, ‘तपाईंहरुको साहस र समर्पणले मात्र होइन, तपाईंहरूको नैतिकता र इमान्दारिताले पनि हाम्रो समाजमा ठूलो परिवर्तन सम्भव छ ।’
यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कठायतले पछिल्लो समयमा डिजिटल अपराध बढेको बताए । ‘प्रहरीले मात्र केही गर्न सक्दैन,' उनले भने, ‘जबसम्म समाजका नागरिकहरु सक्षम हुँदैन नागरिकहरु सक्रिय हुँदैनन् झनै अपराधका घटनाहरु बढ्दै जान्छन् ।’
गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीध कृष्णलाल भट्टराईले नेपालमा अपराध अनुसन्धान गर्न पर्याप्त संयन्त्र भएपनि अनुसन्धानका क्रममा हुने हस्तक्षेपका कारण प्रभावकारी हुन नसकेको बताए । उनले अनुसन्धानलाई प्रभावकारी बनाउन पद्धति पनि बलियो बनाउनुपर्ने बताए ।
गोष्ठीमा १० वटै जिल्लाबाट प्रहरी अधिकृतहरु सहभागी छन् । प्रदेशको सुरक्षा चुनौती र समाधानका लागि थाल्नुपर्ने रणनीतिक विषयमा गोष्ठी केन्द्रित हुने बताइएको छ ।
