वीरेन्द्रनगर — प्रदेश अस्पताल सुर्खेतलाई सिकलसेल जाँच मेसिन हस्तान्तरण गरिएको छ । बिहीबार वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले अस्पतालाई मेसिन हस्तारन्तरण गरेकी हुन् ।
थारु समुदायमा बढी देखिने रक्तअल्पतासम्बन्धी रोग सिकलसेल एनिमिया जाँच मेसिन जडान भएसँगै प्रदेश अस्पतालमा सेवा सुरू भएको हो । एनिमियाको उपचारको अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । नगरपालिकाले १८ लाखभन्दा बढी मूल्य पर्ने मेसिन उपलब्ध गराएको हो ।
नगरप्रमुख ढकालले वीरेन्द्रनगर उपत्यकाका आदिवासी थारु समुदायको स्वास्थ्य प्रवर्द्धन र संरक्षण गर्न पालिकाले लिएको वार्षिक नीतिअनुसार अघि बढेको बताइन् । समयमै रोग पहिचान नहुने तथा परीक्षण गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालसँग समन्वय गरेर मेसिन उपलब्ध गराइएको उनले जानकारी दिइन् ।
प्रदेश अस्पतालसँग समन्वय गरेर वार्षिकरुपमा समुदायस्तरमै पुगेर नि:शुल्क सिकलसेल स्क्रिनिङ र उपचार अभियान थाल्ने पनि नगर प्रमुख ढकालले बताइन् ।
अस्पतालका निर्देशक डा केशर ढकालले नगरपालिकाको प्रयासले सिकलसेलकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । कर्णालीका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्देशक ढकालले आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए । उनका अनुसार प्रदेश अस्पतालमा जडान गरिएको मेसिनबाट थलासेमिया रोग पनि परीक्षण गर्न सकिन्छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित लाटिकोइली, जर्बुटा, उत्तरगंगाका ४१ सिकलसेलसम्बन्धीका बिरामीले नेपालगन्जमा उपचार गराइरहेका छन् ।
