सल्यान — सल्यानको दार्मा गाउँपालिका-५ स्थित सामुदायिक स्वास्थ्य इकाइ केन्द्र १६ महिनादेखि भिरालो बारी बनाइएको टेन्टभित्र सञ्चालन भइरहेको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले केन्द्रको भवनमा क्षति पुर्याएको थियो । भवन पुनर्निर्माणको सम्पन्न नभएकाले टेन्टमै सञ्चालन भइरहेको हो ।
क्षति पुगेका संरचना निर्माणका लागि सल्यानमा ३ करोड बजेट विनियोजन भएको थियो । त्यसबाट सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको भवनका लागि ५० लाख छुट्याइयो । पूर्वाधार विकास कार्यालय सल्यानले टेन्डर गरेर ठेकेदारमार्फत काम अगाडि बढाएपनि सम्पन्न हुन अझै केही महिना लाग्ने देखिएको छ ।
टेन्टमा सञ्चालन गर्नुपर्दा स्वास्थ्यकर्मीलाई सेवा दिन कठिनाइ भएको छ भने बिरामीसमेत प्रभावित हुँदै आएका छन । वर्षा हुँदा पानी भित्रै पस्ने,गर्मीका अत्यधिक गर्मी हुने र चिसोमा पनि त्यत्तिकै गाह्रो हुँदा स्वास्थ्यकर्मीले सहज रुपमा सेवा दिन सकेका छैनन् । औषधि भण्डारण लगायत अन्य सामग्री राख्ने कोठा नहुँदा सबै टेन्टभित्रै थुपारिएको छ ।
'एउटा मात्र टेन्ट त्यसमै औषधि र खाट, टेबुल, दराज लगायतका सामग्री राख्नुपरेको छ,' केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मी यज्ञबहादुर खड्काले भने, 'केही महिनाअघिको हुरीले टेन्ट प्वाल पारेको थियो । पानी चुहिने, गर्मीमा अत्यधिक गर्मी हुने भएकाले निकै सकस छ ।' टेन्ट भित्र तीन-चार जनाभन्दा बढी बस्न मिल्दैन ।
हिजोआज मौसम परिवर्तनसँगै भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेकाले दैनिक २० जनासम्म उपचारका लागि आउने गरेका छन् । 'बस्ने ठाँउ नहुँदा सबैलाई बाहिर खुला स्थानमा राख्नुपर्छ,’ खड्काले भने, 'कसैको घर भाडामा लिएर भए पनि सेवा दिनुपर्छ भनेर पालिकामा आग्रह गरेका थियौं । अहिले साह्रै गाह्रो भएको छ,’ उनले भने । टेन्ट भिरालो स्थानमा गाडेकाले पहिरोको जोखिम त्यत्तिकै रहेको उनको भनाइ छ । 'भाईरल ज्वरो, रुघाखोकी, पखालाजस्ता रोग बढ्दै गएकाले महामारीको रुप लिएमा सेवा कसरी दिने भन्ने चिन्तामा छौं,' उनले भने ।
केन्द्रकी महिला स्वास्थ्यकर्मी हीरा ओली आवश्यक सामग्रीको अभावमा गर्भ परीक्षण गर्न आएका महिलालाई सेवा दिने झनै कठिनाइ भएको बताउँछिन् । ‘सुताएर गर्भ परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि छुट्टै कोठा चाहिन्छ तर टेन्टमै पर्दा लगाई काम चलाउनुपरेको छ । लाजले गर्दा कतिपय गर्भवती जाँच गराउन मान्दैनन्,’ उनले भनिन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार भवन सम्पन्न गर्न अझै तीन महिना लाग्ने देखिन्छ । आउने असारदेखि स्वास्थ्यकर्मीले सेवा दिनका लागि कष्ट उठाउनु नपर्ने उनले बताए ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर २०८० कात्तिक १७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
