सल्यान — राप्ती राजमार्गअन्तर्गत कपुरकोटदेखि हर्नेटीसम्म झन्डै १० किलोमिटर सडक स्तरवृद्धि तथा कालोपत्रका लागि पटकपटक बजेट जान्छ । तर, सडक सुधार हुनेभन्दा झनै जीर्ण बनेको छ ।
सडक डिभिजन कार्यालय दाङले निर्माण कम्पनीलाई ताकेता गर्न नसक्दा र निर्माण कम्पनीले समयमै काम नगर्दा समस्या बल्झिएको हो । गुणस्तरहीन काम र बर्सातको समय बाटोमाथिबाट खस्ने पहिरोले सडक जीर्ण बन्दै गएको हो ।
२०६९ देखि २०७१ मा पहिलो पटक राप्ती राजमार्ग कालोपत्र भएपछि डिभिजन कार्यालय दाङले मर्मतका लागि कपुरकोटदेखि हर्नेटीसम्म पटकपटक एक/डेढ करोड विनियोजन गरिसकेको छ । २०७९ मा स्तरवृद्धिका लागि झन्डै २ करोड विनियोजन गरेको थियो भने गत वर्ष विनियोजित १७ करोडबाट लोकमनी बिल्डर्सले काम गरिरहेको छ ।
सडकमा सुधार आउन नसक्दा हिउँदमा धुलाम्मे र बर्सातको समय हिलाम्मे हुने भएकाले यात्रुले विभिन्न किसिमका सास्ती भोग्नुपरेको छ । स्तरवृद्धि तथा कालोपत्रका नाममा सडक छेउछाउ र भित्ताको भागमा थुपारेका ढुंगा,माटो, बालुवाले सडक साँघुरो मात्र नभई दुर्घटनाको जोखिम बढ्दै गएको छ । बेलोबला हुने दुर्घटनामा परेर यात्रुले ज्यानसमेत गुमाएका छन् ।
सम्बन्धित निकायको लापरबाहीकै कारण अहिलेसम्म कपुरकोट गाउँपालिका-३ चोरखोलादेखि तुलसीपुर उपमहानगरपालिका-१ हर्नेटीसम्मको सडकमा कुनै सधार आउन नसकेको छत्रेश्वरी गाउँपालिका-६ का चन्द्रबहादुर रानाले बताए । सडकको दुरवस्थाकै कारण १० किलोमिटर सडकमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्दा ४५ मिनेटभन्दा बढी समय लाग्ने गरेको उनको भनाइ छ ।
‘हिजोआज सडक धुलाम्मे भएकाले मोटरसाइकलमा सवार गर्दा मान्छे चिन्न सकिँदैन । धुलोका कारण बिरामी पर्ने अवस्था छ,’उनले भने, ‘खाल्डाखुल्डीमा जमेको धुलोले दुर्घटनाको जोखिम बढाएको छ । साँघुरो सडकमा लस्करै हिँड्ने टिपरका कारण तुलसीपुर नपुग्दासम्म निकै सकस बेहोर्नुपर्छ ।'
सडक डिभिजनले राप्ती राजमार्ग कालोपत्रे तथा मर्मतमा प्रत्येक वर्ष ३५ देखि ४० करोड खर्च गर्दै आएकामा अन्यत्र सडक ठीकै भएपनि कपुरकोटदेखि हर्नेटीसम्म सुधार आउनेभन्दा झनै बिग्रेको बाग्चौर नगरपालिकाका वीरेन्द्र वलीले बताए ।
कालोपत्रका लागि सरकार जिम्मेवार नभएको र ठेकेदारले विभिन्न बहाना बनाई समयमै काम गर्न नसकेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको भनाइ छ । बर्सातको समयमा खसेको पहिरो हटाउनेभन्दा त्यत्तिकै छाड्दा सडकको स्वरुप नै बिग्रेको उनले बताए । ‘निगरानी गर्ने निकायको कमजोरीका कारण गुणस्तरीय काम हुन सकेको छैन । धेरै स्थानमा गरेको कालोपत्र केही महिना नपुग्दै उप्कने गरेका छन्,' उनले भने, 'जबसम्म सम्बन्धित निकायले निर्माण कम्पनीलाई कडाइ गर्दैन र क्षमताभन्दा धेरै चुनढुंगा बोक्ने टिपर रोक्दैन तबसम्म सडकमा सुधार आउँदैन ।’
सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर अमीर सुवेदीले सरकारले राप्ती राजमार्ग आयोजना खडा गर्ने भने पनि अहिलेसम्म खडा गर्न नसकेको, माग गरेअनुसारको बजेट पर्न नसक्दा नियमित काम हुन नसकेको र टिपरका कारण सडक खण्ड धेरै बिग्रेको बताए ।
‘२०७९ मा चोरखोलादेखि राम्रीसम्म साढे चार किलोमिटर सडक स्तरवृद्धिलाई डेढ करोड बजेट परेको थियो । जिम्मेवारी पाएको वेस्टर्न बिल्डर्सले समयमै काम गर्न नसकेपछि योजना रद्द भयो । २०८० मा १७ करोड पर्यो, अहिले उक्त बजेटबाट काम भइरहेको छ,' उनले भने, 'यो वर्ष राप्ती राजमार्गका लागि परेको ६० करोड बजेटमध्येबाट चोरखोलादेखि हर्नेटीसम्मको १० किलोमिटर सडक कालोपत्र गर्न ३० करोड बजेट परेको छ । टेन्डर पनि भइसकेकाले छिट्टै निर्माण सुरु हुन्छ ।'
