युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

फाल्गुन १७, २०८१

ज्योति कटुवाल

The psychology of the youth should be understood and developed: Chief Minister Kandel

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अब गरिने विकास युवा पुस्ताको मनोविज्ञान बुझेर गर्न आवश्यक रहेको बताएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै विकासमा युवापुस्ताको सहभागितासँगै उनीहरूको चाहना अनुसार विकासमा ध्यान दिन सके दिगो समय अनुकूलको विकास हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

'वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने विकास निर्माणको सिको अन्य पालिकाहरूले गर्ने हुँदा यहाँ हुने विकास जनभावना अनुसार दिगो र वातावरणमैत्री हुनु पर्छ,' उनले भने ।

वीरेन्द्रनगरका सार्वजनिक जमिन अहिले मात्र नभएर आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच, विचार गरेर आउने पुस्तालाई पनि उपभोग गर्ने गरी बचाएर राख्दिनु हाम्रो दायित्व भएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । जनप्रतिनिधिहरूले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउनेतिर ध्यान दिनुपर्ने उनले बताए ।

छलफल वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा र प्रदेशसभा सदस्य जानकी सिंह, निर्वाचित जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully