लामो खडेरीपछि झरी : किसान उत्साहित

फाल्गुन १६, २०८१

महेश केसी

Rain after long drought: Farmers are excited

रुकुम पश्चिम — लामो समयदेखि भइरहेको खडेरीपश्चात शुक्रबार बिहानैदेखि पानी परेपछि रुकुम पश्चिम र रुकुम पूर्वका किसान खुसी भएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आज  बिहानैदेखि कर्णाली, लुम्बिनी र गण्डकी क्षेत्रको मौसम बदली भएको छ । 

झन्डै साढे ६ महिनापछि पानी परेकाले हिउँदेबालीका लागि ठूलो राहत हुने मुसीकोट नगरपालिका–१३ का किसान रणविर खड्काले बताए । ‘पानी त अलि पहिले नै पर्नुपर्थ्यो । तर ढिलै भए पनि यसले हाम्रो बालीनाली फस्टाउला कि !,’ उनले भने । 

रुकुम पश्चिमसँगै लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि झरी परिरहेको छ भने यस भेगको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । पुथाउत्तरगंगा गाउापालिका–१ का वडाध्यक्ष विरमान विकका अनुसार यस क्षेत्रका पुथा र चुरेन हिमालसँगै आसपासका डाडाँमा हिउँ परिरहेको छ ।

सुख्खापन बढेकाले हिमाली जनजीवन पनि कष्टकर बन्दै गइरहेकोमा यो मौसमी प्रतिकूलताले आफूहरूलाई लाभ हुने पुथाउत्तरगंगा–१ मैकोटका भरत कुमार पुनले बताए । 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully