सुर्खेत दुर्घटना : घाइते एकजनाको उपचारका क्रममा मृत्यु

फाल्गुन १५, २०८१

तृप्ति शाही

Surkhet accident: One of the injured died during treatment

वीरेन्द्रनगर — सुर्खेतमा भएको फोर्स गाडी दुर्घटनामा परेकामध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको बराहाताल गाउँपालिका-५ की ३८ वर्षीया भावना लामिछाने रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार घाइतेको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । बिहीबार दिउँसो भएको दुर्घटनामा १३ जना घाइते भएका थिए । 

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । वीरेन्द्रनगर नगरपालिका-२ को बांगेसीमबाट १ किलोमिटर पश्चिमतर्फ घोडालोटेमा गाडी अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको थियो । बसमा १६ जना सवार थिए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully