सल्यानमा पेट्रोलियम पदार्थको खुला बिक्री वितरणमा प्रतिबन्ध 

फाल्गुन १५, २०८१

विप्लव महर्जन

Ban on open sale and distribution of petroleum products in Salyan

सल्यान — जिल्ला प्रशासन कार्यालय सल्यानले खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । कार्यालयले एक सूचना जारी गर्दै जिल्लाभरी खुला रुपमा पेट्रालियम पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । 

जिल्लाको श्रीनगरस्थित दुई पेट्रोल पम्पले पेट्रोलको कृत्तिम अभाव सृजना गर्दा सर्वसाधारणहरु तोकेको भन्दा २० देखि २५ रुपैयाँ बढी मूल्यमा किन्न बाध्य भएका थिए । प्रशासन कार्यालय सल्यानले प्रतिबन्ध लगाएको र पेट्रोलपम्पलेसमेत तेल बिक्रीलाई व्यवस्थित बनाउने भनेपछि सर्वसाधारणलाई राहत भएको छ । 

ईजाजत प्राप्त गरेका व्यवसायीबाहेक अन्यले पेट्रोलियम पदार्थ बिक्री गर्न नपाउनेमा जिल्लाका धेरैजसो खुद्रा व्यापारीले सहजताको लागि भन्दै महँगोमा पेट्रोल बिक्री गर्ने गरेका थिए । सोही कारण पनि प्रतिबन्ध लगाउनु परेको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रशासकीय अधिकृत हरिसचन्द शर्माले बताए ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully