सल्यानमा ट्रक दुर्घटनामा चालकको मृत्यु

फाल्गुन १३, २०८१

विप्लव महर्जन

Driver killed in truck accident in Salyan

सल्यान — सल्यानमा सोमबार मध्यरातमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रोल्पाको झ्यामबाट दमाचौर आउँदै गरेको रा १ क ५३० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–३ का ३५ वर्षीय हरि चन्दको मृत्यु भएको हो ।

सोमबार राति करिब १२ बजेतिर मिनी ट्रक दुर्घटना हुँदा चालक चन्द गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार चन्दलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि ५० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक खत्रीले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully