मुगुमा सडक खन्ने क्रममा ढुंगा खसेर बालकको मृत्यु, आमा घाइते

फाल्गुन १२, २०८१

तुलाराम पाण्डे

Child dies, mother injured after stone falls while digging road in Mugu

कालिकोट — सडक खन्ने क्रममा डोजरले खसालेको ढुंगा लागेर मुगुमा एक बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । सोरु गाउँपालिका-१० धैन गाउँका १० वर्षीय लोकजङ्ग नेपालीको मृत्यु भएको छ भने उनकी आमा कल्पना नेपाली घाइते भएकी हुन् ।

आइतबार साँझ हुम्लाबाट घर फर्किने क्रममा गाउँ नजिकै सडक निर्माण भइरहेको स्थानमा ढुंगा खस्दा बालकको घटनास्थलमै मृत्यु भयो भने आमालाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि सोमबार बिहान जिल्ला अस्पताल मुगु पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी अच्युतराज आचार्यले  बताए।

आमा छोरा घर पुग्ने बेला सडक खनेको ठाउँबाट खसेको ढुंगा लागेर बालकको मृत्यु भएको जानकारी आएको छ । उनले भने थप अनुसन्धान हुँदैछ । उनका अनुसार बाटोमा  हिँड्दै गरेका बालकको  टाउकोमा ढुंगा लागेको थियो भने महिलाको गर्दन र पाखुरामा चोट लागेको छ ।

कर्णाली प्रदेश सरकारको लगानीमा सोरूदेखि दोमुख सडक निर्माण भइरहेको छ । स्थानीयले ठेकेदार पक्षको लापरबाहीले दुर्घटना भएको आरोप लगाएका छन्। 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully